सडक दुर्घटना न्यूनीकरण गर्न लालझाडीको चानदेव बजारमा अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीद्वारा सचेतनामूलक होर्डिङ बोर्ड स्थापना

चानदेव, कञ्चनपुर ।

कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित लालझाडी गाउँपालिका वडा नम्बर ६ चानदेव बजारमा बढ्दो सवारी चाप र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सडक सुरक्षासम्बन्धी सचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीको सक्रिय पहलमा स्थानीय बासिन्दा, सवारी चालक तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरी उक्त बोर्डहरू सार्वजनिक रूपमा स्थापना गरिएको हो। ग्रामीण तथा अर्धशहरी क्षेत्रमा तीव्र गति, असावधानी र नियमको अनभिज्ञताका कारण हुने दुर्घटना रोक्न समुदायस्तरमै पुगेर प्रत्यक्ष जनचेतना फैलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

चानदेव बजारको मुख्य सडक खण्डमा स्थापित बोर्डहरूमा तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, सुरक्षित ओभरटेक र सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने जस्ता संवेदनशील विषयहरू उल्लेख गरिएका छन्। यसका साथै पैदलयात्रीहरूका लागि जेब्रा क्रसिङको प्रयोग र समग्र सडक अनुशासनसम्बन्धी महत्वपूर्ण सन्देशहरू पनि त्यसमा समावेश गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीका इन्चार्ज खेमराज भट्टले ट्राफिक नियमको पालना केवल कानुनी कारबाही वा जरिवानाबाट बच्नका लागि मात्र नभई मानवीय जीवनको रक्षाका लागि अपरिहार्य रहेको बताउनुभयो। उहाँले सडक सुरक्षा कुनै एक निकायको मात्र विषय नभएर सिङ्गो समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सम्पूर्ण नागरिकहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ