जघन्य अपराधविरुद्ध बेलौरीमा ऐक्यबद्धता: दोषीलाई कडा कारबाही र सुरक्षाको प्रत्याभूति गर्न माग

कञ्चनपुर, बेलौरी ।

बारा जिल्लामा बालिकामाथि भएको अमानवीय तथा जघन्य हिंसा र बलात्कारको घटनाप्रति कञ्चनपुरको बेलौरीमा गम्भीर आपत्ति जनाउँदै ऐक्यबद्धतासहित श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ। बेलौरी बजारस्थित भीमदत्त चोकमा दीप प्रज्वलन गरी पीडित बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूले दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न माग गरेका हुन्।

कार्यक्रममा सहभागीहरूले “बलात्कारीलाई कारबाही गर”, “छोरीहरूको सुरक्षाको ग्यारेन्टी गर” तथा “Our voice for Justice” लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेकपा (एमाले) नेतृ कमला बोहराले यस्ता अमानवीय र क्रुर प्रवृत्तिका अपराधहरूले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताउनुभयो। उहाँले बालबालिका तथा छोरीहरूको सुरक्षा राज्यको पहिलो दायित्व हुनुपर्नेमा जोड दिँदै यस्ता जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याई हदैसम्मको कडा सजाय दिनुपर्ने धारणा राख्नुभयो। साथै, विगतका घटनाहरूबाट पाठ सिक्दै राज्यले नागरिकको सुरक्षामा कुनै सम्झौता गर्न नहुने उहाँको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर १ का सभापति वीरेन्द्र (विरु) शाहीले महिला तथा बालबालिकाको सुरक्षा र सामाजिक न्यायजस्ता साझा मुद्दामा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। सभापति शाहीले यस्ता सामाजिक अन्याय र जघन्य अपराधविरुद्ध आफ्नो पार्टीले सधैं जनताको पक्षमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेकपा (एमाले) बेलौरी नगर कमिटीका सचिव हस्तबहादुर विकले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री कुलवीर चौधरी, बेलौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाशराज पन्त, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीय शिक्षक, व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले समाजमा हुने हिंसा र विकृतिविरुद्ध निरन्तर खबरदारी जारी राख्ने ऐक्यबद्धता जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ