बेलौरीमा तेस्रो भेट्रान्स कप भलिबल प्रतियोगिता: ४० वर्षमाथिका खेलाडीहरू पुनः कोर्टमा फर्किंदै

बेलौरी, कञ्चनपुर। बेलौरी नगरपालिका वडा नम्बर ७ को आयोजनामा तेस्रो भेट्रान्स कप भलिबल प्रतियोगिता यही चैत्र २८ देखि ३० गतेसम्म श्री गणेश माध्यमिक विद्यालय, गणेशपुर बरैयाको खेल मैदानमा हुने भएको छ। रात्रीकालीन रूपमा सञ्चालन हुने यो प्रतियोगिता ४० वर्षमाथिका पुरुष खेलाडीहरूका लागि केन्द्रित प्रतियोगिता हो।

वडा खेलकुद सञ्चालन समितिका संयोजक तेजबहादुर चन्दका अनुसार, “४० वर्षमाथिका खेलाडीहरू प्रायः निष्क्रिय बन्दै गएका छन्। उनीहरूलाई फेरि सक्रिय बनाउने र स्वस्थ जीवनशैलीमा फर्काउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।” उनले थपे, “देशभर भेट्रान्स खेलाडीहरूका लागि यस्ता प्रतियोगिता नगन्य छन्। त्यसैले हामीले पहल लिएका हौं, जसले सामाजिक र मानसिक ऊर्जा दुवै फर्काउनेछ।”

प्रतियोगितामा धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाडी गाउँपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाबाट टोलीहरू दर्ता भईसकेका छन्। यी टोलीहरूबीच रात्रीकालीन समयमै हुने भिडन्तले खेलमैदानलाई रौनक दिने अपेक्षा गरिएको छ।

खेलसँगै सांस्कृतिक कार्यक्रम पनि यस प्रतियोगिताको मुख्य आकर्षण हुनेछ। खेलाडीहरूकै प्रस्तुति रहने गीत–सङ्गीत र नृत्यले दर्शकहरूको मनोरञ्जनमा कुनै कमी नहुने आयोजक समितिले जनाएको छ।

प्रतियोगिता सफल बनाउन गठित संयोजन समितिमा तेजबहादुर चन्द संयोजकका रूपमा रहेका छन्। समितिमा श्यामराज चौधरी कोषाध्यक्ष, ओम शाह सचिव तथा भीम क्षेत्री, आशाराम चौधरी र राजु चौधरी सदस्यका रूपमा संलग्न छन्। समितिले खेलाडी, दर्शक र व्यवस्थापन तीनवटै पक्षमा विशेष ध्यान दिइएको जनाएको छ।

यसअघि कल्याण मावि पौलाहामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक श्री गणेश माध्यमिक विद्यालयको खुला मैदानमा सारिएको छ। बेलौरी–७ को खेलकुद र सामुदायिक ऊर्जा जोड्ने यो प्रयासमा सहभागी हुन आयोजकले सबै खेलप्रेमी, स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरुलाई अपिल गरेका छन् –”आउनुहोस्, खेल हेर्नुहोस्, साथै सांस्कृतिक कार्यक्रमको पनि मजा लिनुहोस्!”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ