धनगढी।
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली मौलिकता, परम्परागत निष्ठा र पारिवारिक सम्बन्धको प्रगाढतालाई उजागर गर्ने नयाँ तीज गीत सार्वजनिक भएको छ। लोकगायक बद्री पंगेनी र गायिका हेमन्ता भट्टराईको स्वरमा सजिएको उक्त गीत आइतबार दिउँसो पुष्कर अवस्थी नामक युट्युब च्यानलमार्फत औपचारिक रूपमा बजारमा ल्याइएको हो।
पछिल्लो समय तीजका नाममा भित्रिएको विकृति र तडकभडकपूर्ण प्रस्तुतिभन्दा फरक यस गीतले तीज पर्वको वास्तविक धार्मिक तथा सांस्कृतिक मर्मलाई समेटेको छ। माता पार्वतीले जल समेत ग्रहण नगरी कठोर व्रत बसेर भगवान् महादेवको दीर्घायु र कल्याणको कामना गरेको पौराणिक सन्दर्भलाई आधार मान्दै दाम्पत्य जीवनको अटुट विश्वास र मायाले नै परिवार सुखी र समृद्ध बन्छ भन्ने सन्देश गीतमा प्रवाह गरिएको छ। प्रस्तुत गीतमा शब्द रचना तथा सङ्गीत संयोजन स्वयं गायिका हेमन्ता भट्टराईको रहेको छ।
गीतको अडियो पक्षलाई परिष्कृत बनाउन काठमाडौँस्थित मालाश्री रेकर्डिङ स्टुडियोमा ध्वन्याङ्कन गरिएको थियो भने यसको सङ्गीत संयोजन लोकप्रिय सर्जक तथा एरेन्जर विनोद बाजुरालीले गर्नुभएको हो।
दृश्यकलातर्फ विक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको जीवन्त अभिनय देख्न सकिन्छ। भक्तपुरको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गुण्डु मन्दिर परिसरमा छायाङ्कन गरिएको यस भिडियोले नेपाली मौलिक परिवेश र सांस्कृतिक सौन्दर्यलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ।
हरेक वर्ष मौलिक सिर्जनामार्फत दर्शक तथा स्रोतामाझ पुग्ने क्रमलाई निरन्तरता दिँदै यस पटक पनि सम्पूर्ण टिमको मिहिनेतबाट चेतनामूलक सिर्जना पस्किएको गायिका भट्टराईले बताउनुभएको छ। उहाँले सम्पूर्ण श्रोता तथा दर्शकबाट विगतका वर्षहरूमा झैँ यस पटक पनि रचनात्मक सुझाव, माया र साथ पाउने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाली लोकसंस्कृतिमाथि पश्चिमा प्रभाव र व्यावसायिक विकृति बढ्दै गएको वर्तमान सन्दर्भमा यस्ता सन्देशमूलक तथा मौलिक प्रस्तुतिले नेपाली चाडपर्वको मौलिक गरिमा जोगाउन र नयाँ पुस्तालाई सांस्कृतिक चेतना हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





