तस्बिर / स्रोत: विष्णु अवस्थीको सामाजिक सञ्जाल (फेसबुक) बाट।
बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको व्यापारिक तथा प्रशासनिक केन्द्र मानिने बेलौरी बजारका मुख्य चोकहरूमा सडक नाला (ड्रेन) को निकास नहुँदा सामान्य वर्षातमा पनि सडकमै पानी जम्ने गरेको छ। सडकमा थुनिएको फोहोर पानीको उचित निकास नहुँदा स्थानीय बासिन्दा, व्यवसायी र पैदलयात्रीहरूले दैनिक रूपमा सास्ती व्यहोर्नुपरेको छ।
विशेष गरी बेलौरीको मुख्य संविधान चोक र तौला राना चोक क्षेत्रमा ढल तथा नालाको दीर्घकालीन व्यवस्थापन नहुँदा समस्या झन् जटिल बनेको छ। चोक आसपास सडकमै हप्ताौंसम्म पानी जमेर बस्दा दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको टोकाइ र अन्य सङ्क्रामक रोगहरूको जोखिम तीव्र रूपमा बढेको स्थानीयहरू बताउँछन्।

सडकको यस्तो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बेलौरी नगर युवा सञ्जालका अध्यक्ष विष्णु अवस्थीले सामाजिक सञ्जालमार्फत स्थानीय सरकार र सरोकारवाला निकायको ध्यानआकर्षण गराउनुभएको छ। अध्यक्ष अवस्थीले चोकको नामाकरण र संरचना निर्माण भए पनि नियमित अनुगमन, नालाको निकास र बजार व्यवस्थापनमा जिम्मेवार निकायले बेवास्ता गरेको भन्दै तत्काल समस्या समाधानको माग गर्नुभएको छ।
स्थानीय बासिन्दाका अनुसार सडकमा जमेको फोहोर पानीका कारण डेंगु, मलेरिया जस्ता किटजन्य रोग तथा छाला सम्बन्धी समस्या फैलिने डरले सर्वसाधारण त्रसित बनेका छन्।
यसै विषयमा बेलौरी वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले हुलाकी राजमार्ग निर्माणको क्रममा नालाको काम पूर्ण नभएकाले र कतिपय ठाउँमा पुरिएकाले सडकमा पानी जम्ने समस्या देखिएको स्पष्ट पार्नुभएको छ।वडाध्यक्ष ढकालले भन्नुभयो,
यो सडकको पानी बग्ने नाला (ड्रेन) को निकास नहुनुको समस्या हो। हुलाकी सडक आयोजनाको तर्फबाट हुनुपर्ने काम बाँकी रहेकाले ढिलाइ भएको भए पनि स्थानीय तहले यसमा सहजीकरण गरिरहेको छ। संविधान चोक, तौला राना चोक लगायतका स्थानमा नालाको निकास खोली पानी जम्ने समस्याको दीर्घकालीन समाधान गर्न स्थानीय सरकार गम्भीरताका साथ लागिपरेको छ।
बजार क्षेत्रका चोकहरूलाई स्वच्छ र व्यवस्थित बनाउन तथा सम्भावित स्वास्थ्य सङ्कट पन्छाउन स्थानीय तहले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयको जोडदार माग रहेको छ।





