बेलौरी, कञ्चनपुर।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिकोत्सवको अवसर पारेर कञ्चनपुरको बेलौरीमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत यही भाद्र २ गते श्री महाकाली बहुमुखी क्याम्पस, बेलौरीको सभा हलमा उक्त जीवनदायी कार्यक्रम आयोजना हुन लागेको हो।
कम्पनीका बेलौरी शाखा प्रमुख प्रदिप तिवारीका अनुसार ‘तपाईंबाट थोरै, कसैको लागि जीवनभर’ भन्ने मूल मानवीय भावनासहित रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो। सुदूरपश्चिम क्षेत्रका अस्पतालहरूमा रगत अभावका कारण बिरामीले भोग्नुपर्ने समस्यालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने उद्देश्यले संस्थागत वार्षिकोत्सवको अवसरमा यो पुण्य कार्य तय गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिनुभयो।
क्याम्पस सभाहलमा सञ्चालन हुने रक्तदानमा सहभागी भई अमूल्य रगत दान गर्न स्थानीय युवा, विद्यार्थी, बुद्धिजीवी, व्यवसायी तथा सम्पूर्ण नगरवासीलाई आयोजकले हार्दिक अपिल गरेको छ।





