बेलौरी, कञ्चनपुर, २६ असार। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलौरी नगर समितिको दोस्रो नगर सम्मेलन शुक्रबार बिहान १० बजे बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको छ। सम्मेलनमा केन्द्रीय सदस्य एवम् पूर्व खानेपानी मन्त्री बीना मगर प्रमुख अतिथिको रूपमा उपस्थित रहने नगर समिति सचिव सुन्दर चौधरीले जानकारी दिएका छन्।
चौधरीले बेलौरी नगरपालिकाभित्र पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई कार्यक्रममा सहभागी भई सम्मेलन सफल बनाउन आग्रह गरेका छन्। सम्मेलनमा पार्टीको भावी कार्ययोजना, स्थानीय तहको नीति निर्माण र नगरस्तरीय नयाँ नेतृत्व चयनका विषयमा छलफल गरिने बताइएको छ।
सम्मेलन ‘भ्रष्टाचार र बेथिति विरुद्धको हाम्रो अभियान, सु-शासन र समृद्धिका लागि हाम्रो सम्मेलन’ भन्ने नाराका साथ हुन लागेको हो।





