बेलौरी, कञ्चनपुर
कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको करिब चौध लाख रुपैयाँ बराबरको सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको विशेष गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटस्थित सीमा क्षेत्रबाट उक्त अवैध सामग्री र ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका वडा नम्बर ४ का २० वर्षीय कैलाश जोशी तथा भारतको उत्तर प्रदेशस्थित लखिमपुर कमलापुरका ३२ वर्षीय शिवानन्द शर्मा र ३० वर्षीय वाहिद अली रहेका छन्। सीमा नाकाबाट अवैध गतिविधि भइरहेको सूचनाका आधारमा निगरानीमा रहेको सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामानहरूमा २७ बोरा खरबुजाको बीउ, चिनी तथा ढुवानीका लागि प्रयोग गरिएका साइकलहरू रहेका छन्। बरामद सम्पूर्ण सामग्रीको बजार मूल्य करिब १३ लाख ९६ हजार २०० रुपैयाँ बराबर आँकलन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहप्रवक्ता तथा प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाले बताउनुभएको छ।
पक्राउ परेका तीनै जना अभियुक्त तथा बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ।





