सुदूरपश्चिमाञ्चल एकेडेमीमा आयोजित ‘खुल्ला संसद् र युवा’ अन्तरक्रियामा सांसद विकको जोड।
धनगढी, कैलाली, ११ भदौ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य (सांसद) लक्ष्मी विकले युवा पुस्तालाई निर्वाचनका बेला मत माग्ने र प्रचारकका रूपमा मात्र प्रयोग गर्ने राजनीतिक सोच बदलिनुपर्ने बताउनुभएको छ।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा आयोजित ‘खुल्ला संसद् र युवा’ विषयक प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद विकले नीति निर्माण र निर्णय प्रक्रियाको हरेक तहमा युवाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो।
सिर्जनशील वातावरण संरक्षण तथा समाज विकास नेपालको आयोजना, सुदूरपश्चिम प्रदेश सभा सचिवालयको समन्वय एवं संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) संसद् सहयोग परियोजनाको सहकार्यमा सम्पन्न कार्यक्रममा सांसद विकले विद्यार्थीहरूले उठाएका रोजगारी, शिक्षा र राजनीतिक अवसरसम्बन्धी प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले राखेका जिज्ञासा सम्बोधन गर्दै सांसद विकले सुदूरपश्चिमबाट हुने युवा पलायन रोक्न प्रदेश सरकारले बजारको मागअनुसारका प्राविधिक सीप र उद्यमशीलताका ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो।
सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई पढाइसँगै प्रयोगात्मक सीप र उद्यमशीलतासँग जोड्ने ‘पढ्दै कमाउँदै’ (Earn While Learn) नीति कानुनमै समेटेर कार्यान्वयन गर्न म प्रदेश सभामा निरन्तर आवाज उठाउनेछु।”

विगतमा सञ्चालन भएका सीपमूलक तालिमहरूको प्रभावकारितामाथि प्रश्न उठिरहेको सन्दर्भमा सांसद विकले अबका कार्यक्रमहरूलाई परिणाममुखी बनाउन कडा अनुगमन प्रणाली आवश्यक रहेको स्पष्ट पार्नुभयो।
युवाले नेतृत्व खोज्दा ‘अनुभव नपुगेको’ भन्दै पन्छाउने प्रवृत्तिको आलोचना गर्दै उहाँले अवसर नदिई अनुभव नबढ्ने तर्क गर्नुभयो। प्रदेशका विभिन्न योजना आयोग, विकास समिति र नीतिगत संरचनाहरूमा युवाहरूको निश्चित प्रतिशत वैधानिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने उहाँको धारणा थियो।

“संसद् नागरिक र विशेषगरी युवा पुस्ताका लागि सधैं खुला हुनुपर्छ,” सांसद विकले भन्नुभयो, “बजेट तर्जुमा प्रक्रियादेखि कानुन निर्माणसम्म युवाका आवाज, आवश्यकता र दृष्टिकोणलाई समेट्न म जनप्रतिनिधिका रूपमा पुलको भूमिका निर्वाह गर्नेछु।”
अन्तरक्रिया सत्रमा सुदूरपश्चिमाञ्चल एकेडेमीका विद्यार्थीहरूले बेरोजगारी, शैक्षिक पूर्वाधार र बजेट निर्माणमा युवा सहभागिताका विषयमा सांसद विकसँग प्रत्यक्ष संवाद गरेका थिए।





