कैलाली।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल–भारत खुला सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा नागरिक सहजीकरणलाई प्रभावकारी बनाउन संगठन एकीकृत योजनासहित अघि बढेको बताउनुभएको छ।
कञ्चनपुरस्थित सीमा क्षेत्रको स्थलगत निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिरीक्षक पौडेलले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सीमा सुरक्षामा खटिएका राष्ट्रसेवकहरूको कार्यप्रणाली, विद्यमान चुनौती तथा स्थानीय नागरिकका समस्या प्रत्यक्ष बुझ्न आफू फिल्डमा खटिएको स्पष्ट पार्नुभयो।
नेपाल–भारतबीचको खुला सिमाना सुरक्षाका दृष्टिकोणले निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले सुरक्षा जाँचलाई चुस्त बनाउँदै सीमा वारपार गर्ने आम नागरिकको आवतजावतलाई सहज र झन्झटरहित बनाउनेतर्फ विशेष ध्यान दिइएको उल्लेख गर्नुभयो। नेपाल सरकार, गृह मन्त्रालय र सशस्त्र प्रहरी बल सीमा क्षेत्रलाई आधुनिक र थप व्यवस्थित बनाउने रणनीतिमा रहेको उहाँको भनाइ थियो।
सीमा सुरक्षा बहुनिकाय समन्वयमा आधारित एकीकृत प्रक्रिया भएको स्पष्ट पार्दै महानिरीक्षक पौडेलले विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँग सहकार्य गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाइने बताउनुभयो। सीमावर्ती क्षेत्रका जनताले भोग्नुपरेका व्यावहारिक कठिनाइ समाधान गर्न र सीमापार हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।
सीमा क्षेत्रमा स्थापना गरिएका सशस्त्र प्रहरी बलका बिटहरूको भूमिकाबारे प्रस्ट पार्दै उहाँले ती बिटहरू पहिलो प्रत्युत्तरदाताका रूपमा क्रियाशील रहेको बताउनुभयो। सीमावर्ती बिटहरूले सुरक्षा जाँचलाई पहिलो प्राथमिकतामा राख्दै कुनै पनि प्रकारका आपराधिक घटना हुन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन निरन्तर निगरानी गरिरहेको उहाँले बताउनुभयो।





