बेलौरी (कञ्चनपुर) । रसुवा जिल्लाको स्याफ्रुबेंसी क्षेत्रमा आएको भीषण बाढीका कारण त्यहाँस्थित जलविद्युत् आयोजनामा कार्यरत कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा सम्पर्कविहीन भएका छन्। रोजगारीका सिलसिलामा हाइड्रोपावरमा पुगेका स्थानीय युवाहरू बाढीपछि परिवार र आफन्तको सम्पर्कमा नआएपछि बेलौरी नगरपालिकाले उनीहरूको खोजी तथा उद्धारका लागि सार्वजनिक अपिल जारी गरेको छ।
सम्पर्कविहीन हुनेहरूमा बेलौरी नगरपालिका वडा नम्बर ५, रामनगर निवासी खुसीराम चौधरी र प्रकाश चौधरी तथा वडा नम्बर ३, पडाव निवासी रामचन्द्र चौधरी रहेका छन्। प्राकृतिक विपद्का कारण कार्यक्षेत्रमा भएको क्षति र त्यसपछिको अन्योलले गर्दा तीनै जना युवा हालसम्म परिवारको सम्पर्कमा आउन नसकेको स्थानीय प्रशासन तथा आफन्तजनले जनाएका छन्।
बेलौरी नगरपालिकाले जारी गरेको अपिलमा उनीहरू जहाँ भए पनि तत्काल परिवार वा आफन्तजनको सम्पर्कमा आउन आग्रह गरिएको छ। यसका साथै बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट तथा त्रिशूली नदी तटीय क्षेत्रका स्थानीय तहहरू, सुरक्षा निकाय, सम्बन्धित जलविद्युत् आयोजना व्यवस्थापन एवं विपद् उद्धार तथा खोजी कार्यमा खटिएका सबै संयन्त्रहरूलाई समन्वय गरिदिन अनुरोध गरिएको छ।
नागरिकहरूको सकुशल खोजी तथा उद्धारका लागि सहयोगको याचना गर्दै नगरपालिकाले कुनै जानकारी प्राप्त भएमा ९८०१३८५६७४ वा ९८४८७५४००८ मा सम्पर्क गर्न आग्रह गरेको छ।





