सुदूरपश्चिम प्रदेश सरकारद्वारा बाढीपीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा, नीति तथा योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

धनगढी।

सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण संकटमा परेका बाढीपीडित नागरिकको तत्काल सहयोगार्थ सो रकम प्रदान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले राहत रकम उपलब्ध गराउनुका साथै बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामी परेका नागरिकहरूको आकस्मिक स्वास्थ्य उपचारका लागि विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णयसमेत गरेको छ। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल आधारभूत आवश्यकता र स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताइएको छ।

यसैगरी बैठकले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको रिक्त उपाध्यक्ष पदमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी आयोगको सदस्य पदमा गङ्गादत्त जोशी र हिरा चन्दलाई नियुक्त गरिएको छ। योजना आयोगले पूर्णता पाएसँगै प्रदेशको दीर्घकालीन विकास योजना तथा नीति निर्माणले थप गति लिने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा कार्यसम्पादन व्यवस्थापनतर्फ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव पदमा धर्मराज जोशीलाई पदस्थापन गर्ने निर्णय गरेको छ। यसका साथै प्रदेश सरकारको गतिविधि, निर्णय तथा सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ