काठमाडौँ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि (आईटी) क्षेत्रमा क्रियाशील युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ। मङ्गलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका उद्यमीहरूसँग आयोजित छलफलमा उहाँले सूचना प्रविधि क्षेत्र वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको हो।

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले सूचना प्रविधि क्षेत्र छोटो समयमै ठूलो फड्को मार्न सक्ने सम्भावनायुक्त माध्यम भएको उल्लेख गर्नुभयो। विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा धेरै समय र लगानी खर्चिनुपरेको स्मरण गराउँदै उहाँले आईटी क्षेत्र कम समयमै उच्च प्रतिफल दिन सक्ने दरिलो आधार भएको धारणा राख्नुभयो। सरकार युवा उद्यमीहरूको साथमा रहेको स्पष्ट पार्दै उहाँले नीतिगत तथा व्यावहारिक रूपमा आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताउनुभयो।
नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय मूल्य शृङ्खला (भ्यालु चेन) विकास हुने हबका रूपमा स्थापित गर्ने रणनीतिका साथ काम भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। यस वर्षको बजेटमा सरकारले सूचना प्रविधिलाई विशेष प्राथमिकता दिँदै कृत्रिम बौद्धिकता (एआई) को विकासका लागि बजेट विनियोजन गरेको र विश्वस्तरीय प्रख्यात कम्पनीहरूलाई नेपाल भित्र्याउन पहल भइरहेको उहाँको भनाइ थियो। युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरी प्रतिभा पलायन रोक्नका लागि सरकारले उद्यमीमैत्री वातावरण बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
छलफलमा सहभागी दुई दर्जनभन्दा बढी युवा उद्यमीहरूले सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राखेकोमा स्वागत गरेका थिए। उद्यमीहरूले सेवा प्रवाहलाई प्रभावकारी बनाउन एकल विन्दु सेवा केन्द्रको सञ्चालन हुनुपर्ने, विदेशी मुद्रा सटही सुविधा सहज बनाइनुपर्ने तथा विद्यमान कानुनी जटिलताहरू तत्काल समाधान गरिनुपर्ने आवश्यकता औँल्याएका छन्। सरकारले व्यवसायीका व्यावहारिक कठिनाइहरू सम्बोधन गर्दै अघि बढेमा सूचना प्रविधि क्षेत्रले मुलुकको अर्थतन्त्रमा कायापलट ल्याउने उद्यमीहरूको विश्वास छ।





