कञ्चनपुर, ३० श्रावण । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको साउन ३१ गते हुने निर्वाचनमा बेलौरी नगरपालिकाका अशोक पाण्डेय मन्त्री पदका लागि एकल उम्मेदवारका रूपमा उभिएका छन्।
२०६५ सालदेखि निरन्तर रेडक्रसमा सक्रिय पाण्डेय विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा लामो अनुभव बोकेका व्यक्ति मानिन्छन्। हाल बेलौरी नगरपालिका कार्यालयमा कर्मचारीका रूपमा कार्यरत पाण्डेय नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन पनि हुन्। उनले विपद् समयमा स्थानीय तहमा प्रत्यक्ष रूपमा उद्धार, राहत र पुनःस्थापना कार्यको नेतृत्व गरेका छन्।
हामीले “किन एकल उम्मेदवारी दिनुभयो?” भन्ने प्रश्न गर्दा पाण्डेयले भने, “हाल कञ्चनपुर जिल्लामा रगतको पर्याप्तता छैन, आपतकालीन अवस्थामा रगत अभावको समस्या बारम्बार देखिन्छ। त्यसैले रक्त संकलनलाई व्यवस्थित गर्दै आपूर्ति पर्याप्त बनाउने मेरो प्राथमिकता हो। साथै विपद् जोखिम पहिचान गरी बेलडाडी र लालझाडी क्षेत्रमा उपशाखा विस्तार गर्ने, रेडक्रसलाई सशक्त बनाउने र व्यवस्थापनमा पारदर्शिता ल्याउने लक्ष्यका साथ एकल उम्मेदवारी दिएको हुँ।”
विजयी भएमा उनले संस्थाको आन्तरिक व्यवस्थापनमा सुधार, सदस्यहरूको सक्रियता अभिवृद्धि, युवा स्वयंसेवकको सहभागिता विस्तार र समुदायमै प्रत्यक्ष सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
रेडक्रसका पुराना सदस्यहरू, स्थानीय स्वयंसेवक र विपद् व्यवस्थापनमा संलग्न व्यक्तिहरूले पाण्डेयको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।





