डडेल्धुरा । आलिताल गाउँपालिकाको आयोजनामा बिहीवार हरितालिका तिज तथा गौरा पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाकी उपाध्यक्ष मैना कुमारी रावलको अध्यक्षता र सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता देवी मालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य मालले तिजलाई महिलाको एकताको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। उहाँले पछिल्ला वर्षहरूमा तिज भड्किलो र खर्चिलो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै आधुनिकताको नाममा विकृति भित्र्याउन नहुने बताउनुभयो। मालले तिजलाई सरल, सभ्य र आत्मीय ढंगले मनाउन आग्रह गर्नुभयो।
उनले महिलाले आफ्ना हक अधिकारप्रति सजग रहनुपर्नेमा जोड दिँदै बहुविवाहलाई कानुनी मान्यता दिने, विवाहको उमेर घटाउनेजस्ता पश्चगामी प्रयासहरूको कडा विरोध गर्नुपर्ने धारणा राख्नुभयो। “महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन्, समान अधिकार सुनिश्चित नभएसम्म समाज अगाडि बढ्दैन,” मालले स्पष्ट पार्नुभयो।
त्यसैगरी उनले स्वास्थ्यको ख्याल राख्दै तिज र गौरा पर्वलाई आत्मीय र मर्यादित ढंगले मनाउन सबैलाई शुभकामना व्यक्त गर्नुभयो।





