केशव भट्टराई,
कञ्चनपुरको पुनर्वासमा सोमबार नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशन मार्फत बलदेव सिंह बुडालको नेतृत्वमा पुनः नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । सो अधिवेशन मार्फत् न्यु लक्ष्मी इट्टा उद्योग बेलौरीका सञ्चालक सुरज श्रेष्ठ नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको महासचिव पदमा निर्वाचित हुनु भएको छ । युवा व्यवसायी, शिक्षण पेशा संगै श्रेष्ठले पत्रकारितामा पनि दख्खल राख्नुभएको छ । उहाँ कञ्चन आवाजको सञ्चालक तथा अनमोल प्रेसका सम्पादक समेत हुनुहुन्छ । महासचिव श्रेष्ठ यति मात्रै नभई सेती–महाकाली ट्रक यातायात व्यवसायी समितीमा निर्वाचीत कार्य समिती सदस्य समेत रहनुभएको छ ।

झण्डै ४ बर्ष अघि बेलौरी–६ मा आफ्नै न्यु लक्ष्मी इट्टा उद्योग सञ्चालन गरी बस्दै आउनु भएका श्रेष्ठ यसअघि पनि प्रदेश समितिको कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । उहाँको इट्टा उद्योग मार्फत् सिजनमा २ सय को हाराहारीमा रोजगारी उपलब्ध हुने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

“ईट्टा उद्योगीहरु बीच एकता कायम गर्नु र संस्थालाई बलियो बनाउनु मेरो विशेष प्रयास हुनेछ भने काँचो ईट्टा जुन बनाउछौँ, खुला आकाशमा बनाउछौँ जसले गर्दा बेमौसमी वर्षाले हाम्रा धेरै ईट्टाहरु बर्बाद हुन्छन् । त्यसको लागि काँचो ईट्टाको बीमा गर्नका लागि सरोकारवाला पक्षसँग नीतिगत कार्यक्रम गर्ने, ईट्टा उद्योगलाई आधुनिकिरण गराउन पहल गर्ने र साथै ईट्टा उद्योगीहरुको हकहितको लागि निरन्तर लागि पर्ने मेरो लक्ष्य रहेको छ”, उहाको भनाई छ ।

सोमबार भएको अधिवेशन मार्फत् नेपाल इट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद सुवेदी र कोषाध्यक्ष नविन शर्मा चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा खडक विक्रम थापा, दिलिपबहादुर चन्द र विष्णुदत्त पाण्डे सहित सात सदस्य समिति चयन भएको छ ।





