कञ्चनपुर, भाद्र १९ । आउँदो भाद्र २१ शनिबार हुने कञ्चनपुर निर्माण व्यवसायी संघको १५औँ कार्यसमिति निर्वाचनमा एक युवा व्यवसायीले निर्माण क्षेत्रमा व्याप्त विकृति अन्त्यको मुद्दालाई प्रमुख एजेन्डा बनाएर उम्मेदवारी दिएका छन् । झण्डै एक दशकदेखि निर्माण व्यवसायमा सक्रिय बाशुलिङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक नविन चन्दले संघको सदस्य पदमा उम्मेदवारी दिँदै ‘अति न्यून मूल्य’ मा ठेक्का लिने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न पहल गर्ने अठोट व्यक्त गरेका छन् ।
नेतृत्व र पदाधिकारीका लागि प्यानलगत प्रतिस्पर्धा भए पनि सदस्य पदका लागि खुला रूपमा धेरै युवा चुनावी मैदानमा छन्, जसमा चन्द एक बलिया दाबेदारका रूपमा देखिएका छन् । डेढ दशकअघि अध्ययनका लागि काठमाडौँ पुगेका चन्दले ०७२ सालको महाभूकम्पपछि पुनर्निर्माणको क्रममा निर्माण व्यवसायको महत्त्व देखेर यस क्षेत्रमा प्रवेश गरेका थिए । सुरुमा आफन्तसँग मजदुरीबाट काम सिकेका उनले आफ्नै मेहनतले व्यवसाय स्थापना गरे । सामान्य कमजोरीका कारण निर्माण व्यवसायीहरू धरासायी हुने अवस्था देखेर आफूले संघमा रहेर सुधारको प्रयास गर्न चाहेको उनी बताउँछन् ।

चन्दले निर्माण व्यवसायमा ‘बिलो’ मा ठेक्का लिने प्रथाले समग्र विकास निर्माणको गुणस्तर खस्काएको र यसबाट व्यवसायी, सरकार र जनता कसैलाई पनि फाइदा नभएको बताए । “पछिल्ला दिनहरुमा हामीहरुविच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ, यसको लाभ अरुलाई नै भइरहेको छ,” उनले भने, “यस्तो बिलोमा लिने ठेक्काले न हामी, न सरकार, न जनता र देशलाई नै फाइदा हुँदैन । यस्ता समस्याबाट मुक्तिका लागि मैले अहिले सदस्य बन्ने चाहना राखेको छु ।”
यदि आफूले सदस्यको जिम्मेवारी पाएमा यो विकृति अन्त्यका लागि संघभित्रबाटै सशक्त पहल गर्ने उनले प्रतिज्ञा गरेका छन् । बेलौरी नगरपालिका निवासी चन्द निर्वाचन क्षेत्र नम्बर १ बाट सदस्य पदका लागि एक्ला उम्मेदवार हुन् । उनले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै समग्र जिल्लाका निर्माण व्यवसायीहरूको हकहित र व्यवसायको गुणस्तर सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै सबै मतदातालाई सहयोग गर्न अपिल गरेका छन् ।





