पुनर्वास, असोज २। कञ्चनपुर पुनर्वास नगरपालिकाको कार्यपालिका बैठक बिहिबार बसेको छ। जेन्जी आन्दोलनको क्रममा आगजनी गरी पालिका पूर्णरूपले ध्वस्त भएको थियो । यतिबेला पालिकामा सरसफाई र रङ्गरोगनको काम चलिरहेको छ । पालिकाले केही दिन पहिले सूचना जारी गर्दै अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवा दिन नसक्ने जनाएको थियो । बिहीबार बसेको कार्यपालिका बैठकले पालिकाको अतिआवश्यक मर्मतकार्य छिटो भन्दा छिटो सम्पन्न गरी कार्यालय सञ्चालन गर्नुका साथै सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।
यो सँगै पालिकालको पुनर्निर्माणका लागि कसैसँग पनि नगद रुपैयाँ आर्थिक सहयोग नलिने तर स्वस्फुर्त रूपमा दिन चाहेमा जिन्सी सामान मात्रै लिने निर्णय गरेको पुनर्वास नगरपालिकाका नगरप्रवक्ता तथा पुनर्वास- ११ का वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकले आन्दोलनका क्रममा मृत्यु भएका प्रति शोक प्रस्ताव समेत पारित गरेको छ । जेन्जी आन्दोलनको क्रममा भएको सम्पूर्ण क्षतिको एकिन डाटा तयार गर्न पालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टको नेतृत्वमा समिति गठन गरिएको नगरप्रवक्ता अर्यालले जानकारी दिनुभयो ।





