माओवादी केन्द्र बेलौरीद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन

बेलौरी, ३ असोज।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलौरी नगर कमिटीले आज संविधान दिवसको अवसरमा आफ्नो पार्टी कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी दीप प्रज्वलन गरेको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानको रक्षा र कार्यान्वयनमा जोड दिँदै यसलाई प्राप्त गर्नका लागि भएका त्याग र बलिदानको स्मरण गरेका छन्।

नगर कमिटीका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र) की केन्द्रीय कमिटी सदस्य दीपा चौधरीले हाल देशमा भएको जेन-जी आन्दोलनको एजेण्डा र माओवादी केन्द्रको एजेण्डामा समानता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “देशमा सुशासन र परिवर्तनका लागि जेन-जी पुस्ताले उठाएका मागहरू हाम्रो पार्टीको मूल मर्मसँग मिल्दोजुल्दो छन्।”

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले अनेकौं चुनौतीका बीच प्राप्त भएको संविधानको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभयो। त्यस्तै, कञ्चनपुर जिल्ला समन्वय समितिका सचिव सहवीर सुनारले निकै दुःख र संघर्षपछि संविधान जारी भएको स्मरण गर्दै यसको मर्म र भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

नेकपा (माओवादी केन्द्र) जेष्ठ मञ्चका सदस्य प्रेम सिंह बोहराले यो संविधान ल्याउनका लागि धेरैले सहादत प्राप्त गरेको भन्दै उनीहरूको बलिदानलाई बिर्सन नहुने धारणा राख्नुभयो।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रमपछि, माओवादी केन्द्रका कार्यकर्ताहरू बेलौरी नगरपालिकाले आयोजना गरेको संविधान दिवस कार्यक्रममा समेत समाहित भएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ