कञ्चनपुर, ७ असोज। नेकपा (माओवादी केन्द्र) बेलौरी नगर समितिले सामाजिक सञ्जालमा गरेको एक पोस्टको विषयमा मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आफ्ना दुई जना कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
पार्टीले निष्कासन गर्नेमा नगर समिति सदस्य रीता चौधरी र पार्टी सदस्य राजकुमार चौधरी रहेका छन्। नगर सचिव सुन्दर चौधरीद्वारा जारी विज्ञप्तिअनुसार, चौधरीद्वयको ‘कर्मचारी परिचयपत्र’ सम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जालमा पोस्ट भएपछि पार्टीले उनीहरूसँग स्पष्टीकरण सोधेको थियो।
विज्ञप्तिमा भनिएको छ, “निजहरूबाट जवाफ माग्दा चित्त बुझ्दो जवाफ नआएकोले… आजको मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको व्यहोरा जानकारी गरिन्छ।”
विज्ञप्तिमा माओवादी केन्द्रलाई ‘श्रमजीवी सर्वहारा वर्गहरूको हकहितका साथै अधिकारको निम्ति आवाज बुलन्द गर्ने पार्टी’ भन्दै पार्टीको नीति र अनुशासन विपरीतका गतिविधि क्षम्य नहुने संकेत गरिएको छ। यद्यपि, चौधरीद्वयले पेश गरेको स्पष्टीकरण किन चित्तबुझ्दो भएन भन्नेबारे विज्ञप्तिमा केही खुलाइएको छैन।
पार्टीको यो निर्णयले आन्तरिक अनुशासनलाई लिएर माओवादी केन्द्र कडा रूपमा प्रस्तुत भएको देखिएको छ। यस विषयमा थप बुझ्नका लागि निष्कासित कार्यकर्ताद्वय र पार्टीका अन्य नेताहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ।





