मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
राष्ट्रिय स्तरमा भदौ २३ गतेबाट सुरु भएको जेन-जी तथा समर्थकहरूको आन्दोलन कञ्चनपुरको बेलौरी नगरपालिकामा अझै जारी छ। नगरपालिकामा बढ्दो बेथिति तथा भ्रष्टाचार निराकरणका लागि स्थानीय जेन-जी तथा समर्थकहरूले निरन्तर दबाब दिदै आएको छ।

नगरपालिकाका प्रमुख, उप-प्रमुख तथा कर्मचारीहरूसँग पटकपटक वार्तामा बसे पनि आफूहरूले उठाएका मागहरूको सम्बोधन नभएको भन्दै जेन-जी तथा समर्थकहरूले हिजो अर्थात् असोज ८ गतेबाट पुनः शान्तिपूर्ण विरोध कार्यक्रम सुरु गरेको हो ।

जेन-जी तथा समर्थकहरूले करारमा कर्मचारी नियुक्ति प्रक्रिया विधिवत नभएको भन्दै नगरपालिकामा खटिएका करारका कर्मचारीहरूको विवरण माग गर्दा कर्मचारीहरूले उल्टै आफूहरूलाई काम गर्ने वातावरण नदिएको भन्दै हिजो सेवा प्रवाह बन्द गर्ने विज्ञप्ति जारी गरेको थियो।

फलस्वरूप जेन-जीहरूको विरोध कार्यक्रमको दोस्रो दिन नगरपालिकालाई चौतर्फी दबाब आएपछि अन्तत: आज दिउँसो १ बजे नगरपालिकाले जेन-जी र समर्थकहरूलाई सर्वपक्षीय बैठकमा आह्वान गरेको छ।


यो सँगै नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाहरू पुनः सुचारु भएको समेत जानकारी गरिएको छ।





