बेलौरी, कञ्चनपुर – बेलौरी नगरपालिका वडा नम्बर ६, रिछाहामा बस्ने ४० वर्षीय राधेश्याम रानाले हँसियाले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन्।
स्थानीयका अनुसार उनी खेतमा काम गर्ने क्रममा साइकलमा राखिएको हँसियाले घाँटी काटिएको अवस्थामा फेला परेका थिए। तत्कालै उनलाई उपचारका लागि बेलौरीकै ईशान मेमोरियल अस्पताल पुर्याइएको थियो।
अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर अवस्थामा रहेका रानालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरेका थिए। तर, धनगढीमा समेत अवस्था जटिल देखिएपछि उनलाई कोहलपुरस्थित अस्पताल पुर्याइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार रानाको अवस्था अझै पनि गम्भीर छ। आत्महत्या प्रयासको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





