जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भोलि खुल्ने, अन्यलाई पनि सेवा सुचारु गर्न अनुरोध

कञ्चनपुर, १९ असोज। जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले भोलि सोमबार आफ्नो कार्यालय खुला रहने र सम्पूर्ण सेवाहरू सुचारु हुने जनाएको छ। राष्ट्रव्यापी सार्वजनिक बिदा भए तापनि सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कार्यालय खोल्ने निर्णय गरिएको हो।

आइतबार एक सूचना जारी गर्दै प्रशासनले आफ्नो कार्यालयबाट प्रदान हुने सेवाहरू असोज २० गते, सोमबारदेखि नियमित हुने स्पष्ट पारेको छ।साथै, प्रशासनले जिल्लाभित्रका अन्य सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाहरूलाई समेत सेवा प्रवाह सुचारु गर्न अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमानपछि गृह मन्त्रालयले देशभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, कञ्चनपुरसहितको सुदूरपश्चिम प्रदेशमा पूर्वानुमान बमोजिम कम असर परेको भन्दै जिल्ला प्रशासनले सेवा सञ्चालन गर्ने निर्णय लिएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “यस जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाले समेत आ-आफ्ना कर्मचारीलाई समयमै सूचना प्रवाह गरी सेवा प्रवाह सुचारु गर्नु गराउनु हुन अनुरोध छ।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ