बेलौरीमा तीन दलको संयुक्त ज्ञापनपत्रले एमालेभित्रै ल्यायो खैलाबैला!

बेलौरी, असोज २३ । कञ्चनपुरको बेलौरीमा स्थानीय मुद्दाहरूलाई लिएर तीन प्रमुख राजनीतिक दलले संयुक्त ज्ञापनपत्र बुझाएको भोलिपल्टै त्यसले नेकपा एमाले भित्र आन्तरिक मतभेद सिर्जना गरेको छ। हिजो मात्रै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नगर प्रमुखहरूले संयुक्त रूपमा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीलाई ज्ञापनपत्र बुझाएका थिए, तर आज त्यसले नेकपा एमालेभित्र फरक मतहरू सतहमा ल्याएको हो।

बुधबार, असोज २२ गते, नेपाली कांग्रेसका नगर सभापति पेपुराम चौधरी, नेकपा एमालेका नगर अध्यक्ष नमराज शाही र नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष लालबहादुर चौधरीले मेयर चौधरीलाई विभिन्न ५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए। तर, सो ज्ञापनपत्रमा एमाले नगर अध्यक्ष शाहीले गरेको हस्ताक्षर पार्टीको आधिकारिक निर्णय नभई व्यक्तिगत भएको भन्दै एमालेकै नगर पदाधिकारी र प्रदेश कमिटी सदस्यहरूले आपत्ति जनाएका छन्।

नेकपा एमाले बेलौरी नगर कमिटीका सचिव, उपसचिवहरू, नगर इन्चार्ज तथा प्रदेश र जिल्ला कमिटीका सदस्यहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “असोज २२ गते ज्ञापनपत्र बुझाएको कुरा हामीले सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पायौं। पार्टीका इन्चार्ज, पदाधिकारी, नेता तथा नगर कमिटीमा कुनै छलफल वा जानकारी नगराई एकल रूपमा गरिएको निर्णय पार्टीको सिङ्गो धारणा हुन सक्दैन। यो नगर अध्यक्ष कमरेडको आफ्नो व्यक्तिगत धारणा हो, पार्टीको आधिकारिक धारणा होइन।”

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नगर सचिव हस्तबहादुर बिक, उपसचिव गीता देवी डंगौरा र मिश्रीलाल राना, नगर इन्चार्ज तथा प्रदेश कमिटी सचिवालय सदस्य करमसाय राना, प्रदेश सल्लाहकार कमिटी सदस्य रामबहादुर गुरुङलगायत जिल्ला तथा प्रदेश स्तरका अन्य नेताहरू रहेका छन्। उनीहरूले पार्टीका जिम्मेवार व्यक्तिबाट यस्तो गतिविधि हुनु दुःखद भएको र व्यक्तिगत धारणालाई पार्टीको धारणा भनेर सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन्।

हिजो बुझाईएको ज्ञापनपत्रमा बेलौरीका मुख्य पाँचवटा मागहरू समेटिएका थिए:

१. संविधान चोकको अडान: बेलौरीको ‘संविधान चोक’को नामाकरण सर्वदलीय सहमति र नगर सभाबाटै पारित भएकाले अर्को निर्णय नहुँदासम्म सोही नाम कायम रहनुपर्ने। २. कर्मचारी व्यवस्थापन: नगरपालिकामा रहेका करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्न एक कार्यसमिति बनाउने र आवश्यकभन्दा बढी कर्मचारीलाई तत्काल बर्खास्त गर्नुपर्ने। ३. विकास निर्माणको निरन्तरता: नगरभित्रका अधुरा सडक, शिक्षा, स्वास्थ्य लगायतका विकास निर्माणका कामहरूलाई यथाशीघ्र सुचारु गर्नुपर्ने। ४. सरसफाइको समय व्यवस्थापन: सरसफाइ कर्मचारीहरूलाई बिहान ६ देखि ८ बजेभित्र नगर क्षेत्रमा परिचालन गरिनुपर्ने। ५. ‘जेन-जी’प्रति ध्यानाकर्षण: ‘जेन-जी’ नामक पुस्ताको नाममा विभिन्न पार्टीका पदीय जिम्मेवारीमा रहेकै व्यक्तिहरूले अनावश्यक रूपमा उचालेको भन्दै यसतर्फ आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाइएको थियो।

स्थानीय मुद्दामा दलीय एकता देखिएपनि एमालेभित्र उत्पन्न भएको यो विवादले बेलौरीको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ