बेलौरी: जातीय टिप्पणीको आलोचनापछि कुँवरले मागे सार्वजनिक माफी

बेलौरी,२४ असोज: सामाजिक सञ्जालमा चौधरी समुदायको भाषालाई लिएर गरिएको एक अपमानजनक टिप्पणीले विवाद सिर्जना गरेपछि टिप्पणीकर्ताले सार्वजनिक रूपमा माफी मागेका छन्। लक्ष्मण कुँवर नामक व्यक्तिले आफ्नो फेसबुक स्टाटसमार्फत सम्पूर्ण चौधरी समुदायसँग क्षमायाचना गरेका हुन्।

युवाहरुले बेलौरी नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउने क्रमको एक भिडियोमा चौधरी समुदायका विद्यार्थीले आफ्नो मातृभाषामा बोलेको विषयलाई लिएर कुँवरले आपत्तिजनक शब्द प्रयोग गरी टिप्पणी गरेका थिए। उक्त भिडियो कञ्चन आवाजमा प्रकाशन भएको थियो।कुँवरको टिप्पणी सार्वजनिक भएलगत्तै बेलौरी नगर भलमन्सा समितिले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। समितिले विज्ञप्तिमा भनेको छ, “नेपालको संविधान २०७२ को धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भन्ने स्पष्ट व्यवस्था भएकोले संविधानले दिएको अधिकार हनन हुने र सम्पुर्ण चौधरी समुदायलाई अपहेलित हुनेखालका क्रियाकलाप नगर्नहुन चेतावनी दिन चाहान्छौ।” समितिले आफूहरू शान्ति चाहने भन्दै यस्ता गतिविधि नगर्न सचेत गराएको थियो। यसका साथै, अन्य विभिन्न व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा उक्त जातिगत टिप्पणीको चर्को आलोचना गरेका थिए।

चौतर्फी आलोचना पछि लक्ष्मण कुँवरले आफ्नो गल्ती स्वीकार गर्दै फेसबुकमार्फत माफी मागेका छन्। उनले लेखेका छन्, “मैले चौधरी समुदाय का केही शब्द हरु लिएर चौधरी समुदाय लाई गलत शब्द हरु ले प्रहार गरे छु त्यसको लागी म क्षमा चाहन्छु। उप्रान्त यस्ता जातीय शब्द हरु म बाट कदापि प्रयोग हुने छैनन्। हामी सबै एकै हौ भन्ने मनसायले सही पक्षमा बढ्नु पर्छ, धन्यवाद।”

यो घटनाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि जाति, भाषा वा समुदायप्रति संवेदनशील र जिम्मेवार हुन सचेत गराएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ