दोधारा चाँदनी, कञ्चनपुर।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ मालिकास्थित महाकाली नदीको बीच टापुमा फसेका एक ५२ वर्षीय पुरुषलाई आज बिहान सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ। काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नम्बर ६ लहरेटोल स्थायी घर भएका उमेश चौलागाईलाई बाढीग्रस्त नदीको बीचबाट सुरक्षित रूपमा बाहिर निकालिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान करिब ७ बजे महाकाली नदीको टापुमा एक व्यक्ति फसेको खबर प्राप्त भएको थियो। जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरीक्षकको कमाण्डमा उद्धार सामग्रीसहित १० जनाको टोली र सशस्त्र प्रहरी गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।
बिहान पौने आठ बजे घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले स्थानीय नागरिकहरूसँग समन्वय गरी उद्धार कार्य सुरु गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको निरन्तर र साहसिक प्रयासपछि बिहान करिब ८ बजे चौलागाईलाई सकुशल उद्धार गर्न सफलता मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो।
मनसुन सक्रिय भएसँगै महाकाली नदीमा पानीको बहाव उतारचढाव भइरहने हुनाले नदी तटीय क्षेत्रमा आवतजावत गर्दा विशेष सतर्कता अपनाउन र नदीजन्य कार्यमा संलग्न रहँदा मौसमको अवस्था बुझ्न स्थानीय प्रशासनले नागरिकहरूमा अपिल गरेको छ।





