महेन्द्रनगर, २ कार्तिक। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिमदत्त नगरपालिका-४ बजार क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट नगद र ताससमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, कार्तिक १ गते साँझ करिब ७ बजे भिमदत्त न.पा. ४ बजारको गल्लि नम्बर १ स्थित गोरख बहादुर चन्दको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त घरमा पुगी खानतलासी गर्दा ६ जना व्यक्तिहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारेको हो।प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट ३ गड्डी तास र नगद रु. २३,११० (तेइस हजार एक सय दश) रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।





