कञ्चनपुर, ११ कार्तिक।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। पछिल्लो दुई दिनमा बेलौरी नगरपालिकाका विभिन्न स्थानबाट लागु औषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कार्तिक १० गते लागु औषध नियन्त्रण ब्यूरो (ला.औ.नि.ब्यूरो) शाखा कार्यालय धनगढी, कैलाली र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले एक महिलालाई पक्राउ गरेको थियो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका ६ बसपार्क क्षेत्रमा शंकास्पद अवस्थामा रहेकी बेलौरी न.पा.८ पचुई बस्ने संगिता चौधरीलाई चेकजाँच गरेको थियो ।चेकजाँचका क्रममा निजले लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १२.६०० (बाह्र ग्राम छ सय मिलीग्राम) लागु औषध खैरो हेरोइनजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, कार्तिक ११ गते पनि बेलौरी क्षेत्रबाटै थप दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा बेलौरी नगरपालिका १० सडकघाटमा दुई युवकलाई शंका लागि चेकजाँच गरेको थियो ।पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ बङ्क बस्ने प्रदिप ऐरी र बेदकोट न.पा.२ जडेपानी बस्ने जनक बोहरा रहेका छन् । प्रहरीका अनुसार, निजहरूले लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल ५ (पाँच ग्राम) खैरो हेरोइनजस्तो देखिने खैरो पदार्थ कानुनबमोजिम बरामद गरिएको छ ।दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागु औषध ऐनअन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





