इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीद्वारा पुनर्वासबाट एक लाख बढीको भन्सार छलीका सामान बरामद

कञ्चनपुर (पुनर्वास)

कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त सुरक्षा गस्ती टोलीले भदौ २५ गते बिहान लुकाइछिपाइ राखिएको अवस्थामा ती बेवारिसे सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की र सशस्त्र प्रहरी पोष्ट आईबिआरडीका प्रहरी सहायक निरीक्षक बिरेन्द्र बहादुर खडायतको कमान्डमा खटिएको संयुक्त टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ४ आँपतालडाँडास्थित लंका बहादुर शाहीको खाली जमिनमा उक्त सामान फेला पारेको हो। बिहान अन्दाजी पौने १२ बजेको समयमा बेवारिसे अवस्थामा राखिएको सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरुमा कस्मेटिक सामग्री, पेय पदार्थ, रासायनिक मल र हार्डवेयरका सामानहरु रहेका छन्। प्रहरीका अनुसार ४ हजार ८ सय रुपैयाँ बराबरको ३९ बोतल ड्यु, ४१ हजार ४० रुपैयाँ बराबरको १२० थान विभिन्न कस्मेटिक सामान र ७ हजार ५ सय रुपैयाँको तीन बोरा फास्फेट पाउडर बरामद भएको छ। यसैगरी, २ हजार ५ सय रुपैयाँ बराबरको ५० किलो युरिया मल, २६ हजार रुपैयाँ मूल्यको ६५ किलो प्लास्टिक झिल्ली र २२ हजार ४ सय १५ रुपैयाँ बराबरका धारामा प्रयोग हुने ३५७ थान सामानहरु पनि नियन्त्रणमा लिइएको छ। बरामद सबै सामानको कुल अनुमानित मूल्य एक लाख चार हजार दुई सय पचपन्न रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएका सम्पूर्ण सामग्रीहरु हाल इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखिएको छ भने आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ