राजस्व अनुसन्धान विभागद्वारा सवारीसाधन ट्र्याकिङ प्रणाली (भीसीटीएस) अस्थायी रूपमा बन्द

बेलौरी (कञ्चनपुर)

राष्ट्रिय साइबर सुरक्षा केन्द्रको सुरक्षा एडभाइजरीलाई मध्यनजर गर्दै राजस्व अनुसन्धान विभागले वस्तु तथा ढुवानीसाधन ट्र्याकिङ प्रणाली (भीसीटीएस) अस्थायी रूपमा बन्द गरेको छ।

विभागले एक सूचना जारी गर्दै प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएका कारण प्रणालीमा हुन सक्ने सम्भावित दुरुपयोग रोक्न यो कदम चालिएको स्पष्ट पारेको छ। प्रणाली बन्द भएपछि कञ्चनपुरलगायत देशैभरका उद्योगी, व्यापारी तथा ढुवानी व्यवसायीहरू प्रभावित भएका छन्।

प्रणाली पूर्ण रूपमा सुरक्षित नभएसम्मका लागि अस्थायी व्यवस्थास्वरूप व्यवसायीहरूले नियमानुसार जारी गरिएका बिलबिजक तथा आवश्यक राजस्व कागजातहरू साथमा राखेर ढुवानीका सवारीसाधन सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ। साथै, प्रणाली पुनः सुचारु भएपश्चात् सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले यथाशीघ्र ढुवानी विवरण भीसीटीएस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ।

साइबर सुरक्षा जोखिम न्यूनीकरणका लागि चालिएको यस अस्थायी कदमबाट सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति विभागले क्षमाप्रार्थी रहेको जनाएको छ। प्राविधिक सुरक्षा अद्यावधिक भएपछि प्रणाली यथाशीघ्र सञ्चालनमा ल्याइने र त्यससम्बन्धी जानकारी पुनः गराइने विभागको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ