पुनर्वास, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ७, बुद्धबस्तीमा सम्पन्न बृहत् १६औँ रनिङ चाँदी कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी अत्तरिया (एपीएफ क्लब) ले जितेको छ। सिद्धार्थ युवा क्लबको आयोजनामा कात्तिक १२ गते सम्पन्न रोमाञ्चक फाइनल खेलमा हाम्रो एकता हाम्रो बल, दोधारा चाँदनीलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफ क्लबले उपाधि चुमेको हो।
असोज २४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक रहेको थियो। निर्धारित समयमा दुवै टोलीबीच कडा टक्कर भए पनि एपीएफ क्लबले गरेको एक मात्र निर्णायक गोल नै उपाधि जित्न पर्याप्त बन्यो। हारसँगै दोधारा चाँदनीको टोली उपविजेतामा सीमित भएको छ।
प्रतियोगिताको विजेता बनेको एपीएफ क्लब अत्तरियाले आकर्षक रनिङ चाँदीको कपसहित नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी उपविजेता बनेको हाम्रो एकता हाम्रो बल, दोधारा चाँदनीले नगद एक लाख पचास हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयाप्रसाद शर्माको प्रमुख आतिथ्यमा भव्य समारोहबीच प्रतियोगिताको समापन तथा पुरस्कार वितरण गरिएको हो।
स्थानीय खेलप्रेमी तथा बुद्धबस्तीका बासिन्दाहरूले सिद्धार्थ युवा क्लबको निरन्तरको प्रयासले पुनर्वास क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै एक प्रमुख खेलकुद केन्द्रका रूपमा चिनाउन सफल भएको बताएका छन्।
विगत डेढ दशकभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको रनिङ चाँदी कपको १६औँ संस्करणको सफलताले सुदूरपश्चिम प्रदेशमा स्थानीय प्रतिभाको पहिचान र व्यावसायिक फुटबलको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।





