‘म पनि किसानकै छोरी हुँ, हाम्रै पालामा समस्या समाधान हुन्छ’ : बेलौरीमा मन्त्री गीता चौधरीका ५ ठूला घोषणा

बेलौरी (कञ्चनपुर)

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले शनिबार बेलौरीका नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सरकारले एक सेकेन्ड पनि नरोकी जनताको काम गरिरहेको बताएकी छन्। बिदाको दिन भए पनि जनताका गुनासा सुन्न बेलौरी आइपुगेकी मन्त्री चौधरीले आफू पनि किसानकै छोरी भएको उल्लेख गर्दै स्थानीय समस्याहरू आफ्नै पालामा समाधान गर्ने प्रतिबद्धता जनाइन्।

नागरिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बेलौरी र समग्र कञ्चनपुरका मुख्य समस्या समाधानका लागि सरकारले गरिरहेका पहलहरूबारे जानकारी गराइन्। उनका प्रमुख घोषणाहरू यस प्रकार छन्:

नेपालमै खुल्दैछ रासायनिक मल कारखाना: लामो समयदेखि किसानले भोग्दै आएको मल अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी भइरहेको र यसका लागि सरकारले आशयपत्रसमेत मागिसकेको मन्त्री चौधरीले बताइन्। साथै, बिग्रँदो माटो सुधार गर्न ‘प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रम’ अघि बढाइएको उनले जानकारी दिइन्।

हात्तीको नियन्त्रणका लागि ‘रेडियो कलर’: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासमा मानव-वन्यजन्तु द्वन्द्व र हात्तीको आतंक रोक्न हात्तीमा ‘रेडियो कलर’ जडान गर्ने विषयमा काम भइरहेको उनले बताइन्। “आज बिहान ७ बजेदेखि नै निकुञ्जको निरीक्षण र अध्ययन गरेर म सिधै यहाँ आएकी हुँ,” उनले भनिन्।

बेलौरी सडक र उखु किसानलाई राहत: बेलौरी सडक निर्माणमा देखिएका व्यावहारिक र कानुनी अड्चनलाई मध्यमार्गी बाटो निकालेर समाधान गरिएको उनले बताइन्। त्यसैगरी, उखु किसानले पाउनुपर्ने रकम सरकारले समयमै उपलब्ध गराइसकेको र उद्योगहरूबाट पनि छिटो भुक्तानी दिलाउन कडा फलोअप भइरहेको मन्त्री चौधरीले प्रष्ट पारिन्।

आरक्ष पीडितका लागि न्यायिक आयोग: आरक्ष पीडितका समस्या समाधान गर्न सरकार धेरै अगाडि बढिसकेको बताउँदै उनले यसका लागि न्यायिक आयोग गठनको प्रक्रिया सुरु भएको र टीओआर (कार्यसर्त) निर्माण गरी पहिलो चरणको प्रतिवेदन प्राप्त भइसकेको खुलासा गरिन्।

कानुन निर्माण र सुशासन: यो वर्षलाई नेपाल सरकारले ‘कानुन निर्माणको वर्ष’ घोषणा गरेको बताउँदै उनले युवा पुस्तालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताइन्। “हामीले यो पाँच वर्ष एटलिस्ट मिहिनेत गर्‍यौँ भने हाम्रा सन्तानहरू नेपालमै बसेर काम गर्ने वातावरण बन्नेछ,” मन्त्री चौधरीले भनिन्।

जनताले दिएको म्यान्डेटमा कत्ति पनि नडगमगाइकन काम गरिरहेको बताउँदै मन्त्री चौधरीले समस्या समाधानमा अहोरात्र खट्ने वाचासहित बेलौरीवासीलाई आश्वस्त पारेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ