बेलौरी, कञ्चनपुर । विगतमा पार्टी सञ्चालन र सरकारमा रहँदा भएका कमीकमजोरीलाई इमानदारीपूर्वक स्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि आगामी मंसिर २५ गतेसम्मका लागि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट उद्घाटन गरिएको यस अभियानको मुख्य उद्देश्य केन्द्रमुखी तथा नेतामुखी प्रवृत्तिलाई अन्त्य गर्दै गाउँ र टोलका जनतासँग प्रत्यक्ष जोडिनु रहेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीको आत्मालोचना गर्दै अब नेताको भाषण सुनाउन नभई जनताका गुनासा र आलोचना सुन्न नेताहरू गाउँ–गाउँ पुग्ने बताएका छन् । जनताको विश्वास भाषणबाट नभई व्यवहारबाटै आर्जन गर्नुपर्ने यथार्थलाई आत्मसात् गर्दै नयाँ संकल्पका साथ पार्टी जागरणमा होमिएको उनको भनाइ छ ।
अभियानका क्रममा केन्द्रीय नेताहरूकै नेतृत्वमा सुदूरपश्चिमलगायत देशभरका किसान, मजदुर, युवा, महिला र सीमान्तकृत समुदायसँग प्रत्यक्ष संवाद गरिनेछ । नेकपाका सहसंयोजक माधवकुमार नेपालका अनुसार यस अवधिमा जनजीविकाका सवाल, बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहमा देखिएका ढिलासुस्तीबारे तल्लो तहबाटै नागरिकका गुनासा र सुझाव संकलन गरिनेछ । संकलित तथ्यलाई आधार मानेर पार्टीले जनअधिकारको संरक्षण र आत्मनिर्भर अर्थतन्त्रको विकासका पक्षमा आवाज उठाउनेछ ।
यसै सन्दर्भमा नेकपाले वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको, फरक मतप्रति असहिष्णु बनेको र लोकतान्त्रिक संस्थाहरूमाथि हस्तक्षेप बढाएको आरोपसमेत लगाएको छ । साथै, रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार, राहत तथा बेपत्ता नागरिकको खोजीमा राज्यले चरम लापरबाही गरेको भन्दै विपद् प्रभावितको सुरक्षित पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माणमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
गाउँटोलबाट संकलित जनगुनासा र सुझावहरूलाई प्रतिवेदनका रूपमा तयार गरी सम्बन्धित सरकारी निकायमा बुझाउने र नागरिकका समस्या समाधानमा निरन्तर पहल गर्दै समाजवाद निर्माणको बलियो आधार तयार पार्ने नेकपाको अन्तिम लक्ष्य रहेको छ ।





