बेलौरीदेखि काठमाडौँसम्म अत्याधुनिक बाह्रसिङ्गा रकेट बस सेवा सञ्चालनमा

बेलौरी, कञ्चनपुर

सुदूरपश्चिमको कञ्चनपुरस्थित बेलौरी क्षेत्रबाट संघीय राजधानी काठमाडौँसम्मको यातायात सेवालाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित अत्याधुनिक सेवायुक्त बसहरू सञ्चालनमा ल्याइएका छन्।

पवनदूत सार्वजनिक यातायात प्रालिको पहलमा बेलौरीबाट काठमाडौँका लागि चारवटा अत्याधुनिक बाह्रसिङ्गा रकेट एसी बसहरूको औपचारिक उद्घाटन गरी सेवा सुरु गरिएको हो। बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले एक विशेष कार्यक्रमका बीच रिबन काटेर उक्त नयाँ यातायात सेवाको औपचारिक उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।

सञ्चालनमा आएका यी नयाँ बसहरूमा यात्रुहरूको आराम र सहजतालाई सर्वोपरि राखी उच्चस्तरीय सुविधाहरू जडान गरिएका छन्। पवनदूत सार्वजनिक यातायात प्रालिका अध्यक्ष महेश प्रसाद भट्टका अनुसार बसहरूमा दुई गुणा दुई आकारका भिभिआइपी सोफा स्लीपर र आरामदायी स्लीपर बर्थहरूको व्यवस्था गरिएको छ। यसका साथै यात्रुहरूको सुविधाका लागि वाइफाइ, मोवाइल चार्जर, टेलिभिजन तथा गुणस्तरीय साउन्ड सिस्टम जडान गरिएको छ भने यात्राका दौरान पिउने पानी तथा खाजाको उचित प्रबन्ध मिलाइएको छ।

अध्यक्ष भट्टले हाल सञ्चालनमा ल्याइएका यी गाडीहरू यस क्षेत्रकै हालसम्मकै उत्कृष्ट र सुविधासम्पन्न बसहरू भएको बताउँदै यसले लामो दूरीको यात्रा गर्ने यात्रुहरूको थकान र सास्तीलाई धेरै हदसम्म कम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यसअघि लामो दूरीको यात्रा गर्नुपर्दा विभिन्न झन्झट व्यहोर्नुपर्ने बाध्यता रहेकामा अब बेलौरीबाटै सीधै काठमाडौँसम्म आरामदायी र सुरक्षित यात्रा गर्न सकिने स्थानीय तथा सरोकारवालाहरूले बताएका छन्। यातायात सञ्चालकहरूले भाडा दरलाई पनि बजार सुहाउँदो र न्यायसंगत राखिएको तथा यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ