कञ्चनपुर।
खुला सीमानाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका हजारौँ मूल्य बराबरका सामग्रीहरू सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) आँपतालले कञ्चनपुरको पुनर्वासबाट बरामद गरेको छ।
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ४ जुल्फी डाँडास्थित सीमा इलाकामा गस्ती गर्ने क्रममा भन्सार छली ल्याइएका लेडिज तथा कस्मेटिक सामान र प्रतिबन्धित पेय पदार्थ बरामद गरिएको हो। बीओपी आँपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले बिहान करिब पौने आठ बजेको समयमा बेवारिसे अवस्थामा रहेका ती सामग्री नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लेडिज तथा कस्मेटिक सामान र प्रतिबन्धित पेय पदार्थ ड्युको कुल अन्दाजी बजार मूल्य पैंसठ्ठी हजार चालीस रुपैयाँ रहेको छ।
बरामद गरिएका सामानहरूमध्ये लेडिज तथा कस्मेटिक सामग्रीहरूलाई आवश्यक राजस्व असुली र कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ। त्यसैगरी, नेपालमा आयातमा रोक लगाइएको प्रतिबन्धित पेय पदार्थ ड्युलाई भने स्थानीय सरोकारवाला निकाय र सुरक्षाकर्मीको रोहवरमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको छ।





