बेलौरी (कञ्चनपुर), असोज ३।
वर्षौंदेखि निर्माण कार्य अलपत्र परेको कञ्चनपुरको बेलौरी बेलडाँडी हुलाकी सडकको पुरानो ठेक्का रद्द गर्ने सम्पूर्ण प्रक्रिया पूरा भएको छ र अबको केही दिनभित्रै नयाँ ठेक्काको सूचना प्रकाशित हुने भएको छ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्य जनकसिंह धामीको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार सडक निर्माणको कामलाई शीघ्र अगाडि बढाउन पुराना ठेक्का तोड्ने र नयाँ प्रक्रियामार्फत निर्माण व्यवसायी छनौट गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। लामो समयदेखि थलिएको यस रणनीतिक महत्त्वको सडक निर्माण प्रक्रियाले गति लिने भएपछि यस क्षेत्रका स्थानीय बासिन्दाहरूमा विकासप्रतिको आशा पुनः पलाएको छ।
यस हुलाकी सडकको निर्माण कार्य लामो समयदेखि अवरुद्ध हुँदा दक्षिणी कञ्चनपुरका बासिन्दाले दैनिक आवागमनमा ठूलो सास्ती व्यहोर्दै आएका थिए। नयाँ ठेक्का आह्वान भई निर्माण कार्य सुरु भएपछि यस क्षेत्रको यातायात सहज हुनुका साथै समग्र आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।





