बेलौरी, ११ कार्तिक । महाकाली बहुमुखी क्याम्पस बेलौरीले आज एक शोकसभाको आयोजना गरी क्याम्पस सञ्चालक समितिका सदस्य स्वर्गीय यज्ञ प्रसाद कँडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। कँडेलको निधनप्रति शोक व्यक्त गर्न आयोजित उक्त कार्यक्रममा उहाँको राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा रहेको योगदानको स्मरण गरिएको थियो।

शोकसभामा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले स्वर्गीय कँडेलले क्याम्पसको निर्माण तथा सञ्चालनमा सहज वातावरण सिर्जना गर्न पुर्याउनुभएको योगदानलाई कहिल्यै बिर्सन नसकिने बताउनुभयो। उहाँले माओवादी सशस्त्र द्वन्दको समयमा बेलौरीमा प्रशासनिक संयन्त्रहरू नहुँदा, उद्योग वाणिज्य संघको अध्यक्षको रूपमा कँडेलले स्थानीय स्तरमा लेनदेन तथा झैझगडाका विवाद समाधानमा खेलेको महत्त्वपूर्ण भूमिकाको पनि स्मरण गर्नुभयो। अध्यक्ष बिष्टले कँडेलको राजनीतिक, व्यावसायिक र सामाजिक जीवन अनुकरणीय रहेको चर्चा गर्नुभयो।

त्यसैगरी, क्याम्पस प्रमुख धर्मराज जोशीले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय कँडेलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले कँडेलको राजनीतिक, सामाजिक र विशेषगरी महाकाली बहुमुखी क्याम्पसप्रतिको लगाव र योगदानलाई क्याम्पसले सधैँ सम्झिरहने बताउनुभयो।

बेलौरी नगरपालिका वडा नं ४ का बासिन्दा स्वर्गीय कँडेल महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य, बेलौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो। उहाँको ५८ वर्षको उमेरमा गत असोज ६ गते हृदयघातका कारण देहान्त भएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा क्याम्पसका सहायक प्रमुख गंगाप्रसाद रिजाल, स्वतन्त्र विद्यार्थी युनियन सभापति दिपक चौधरी लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले स्वर्गीय कँडेलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।क्याम्पसले आज स्वर्गीय कँडेलको शोकमा पठनपाठन पूर्ण रूपमा स्थगित गरेको छ।






