काठमाडौ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि व्यापार व्यवसाय विस्तार गर्न चाहने र घर–गाडी जोड्ने योजनामा रहेका सेवाग्राहीलाई आकर्षित गर्न वाणिज्य बैंकहरुबीच ‘स्थिर ब्याजदर’ को अघोषित प्रतिस्पर्धा सुरु भएको छ। कर्जाको माग सुस्त भएपछि बैंकहरूले भविष्यमा ब्याजदर बढ्ने जोखिमबाट मुक्त रहने गरी निश्चित अवधिका लागि सस्तो र स्थिर ब्याजदरका योजनाहरू सार्वजनिक गरेका छन्।
ब्याजदर युद्ध : कसको अफर कस्तो? विशेषगरी घर कर्जा, सवारी कर्जा र साना तथा मझौला व्यवसाय कर्जामा बैंकहरुले आक्रामक योजना ल्याएका छन्। ‘कञ्चन आवाज’ लाई प्राप्त विवरण अनुसार प्रमुख बैंकहरूको नयाँ ब्याजदर योजना निम्नअनुसार रहेको छ:
नबिल बैंक (Nabil Bank): नबिलले अटो लोन (सवारी कर्जा) मा निकै सस्तो योजना ल्याएको छ। बैंकले ६.५८ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराइरहेको छ, जुन हालको बजारमा निकै प्रतिस्पर्धी मानिन्छ।
नेपाल बैंक (Nepal Bank): सरकारी स्वामित्वको नेपाल बैंकले कृषि र अटो लोनमा ५.७२ प्रतिशतको आकर्षक ब्याजदर तोकेको छ। यस्तै, घर कर्जाका लागि ५.७५ प्रतिशत र समृद्ध व्यावसायिक कर्जाका लागि ५.९६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसले सरकारी बैंकहरू निजीभन्दा आक्रामक रूपमा प्रस्तुत भएको संकेत गर्छ।
एभरेष्ट बैंक (Everest Bank): एभरेष्ट बैंकले घर र सवारी कर्जामा ७ वर्षसम्मका लागि ७.४९ प्रतिशतको स्थिर ब्याजदर घोषणा गरेको छ। यस्तै, एसएमई र कर्पोरेट कर्जामा ८.५० प्रतिशतको स्थिर ब्याजदर तोकिएको छ।
कुमारी बैंक (Kumari Bank): कुमारी बैंकले ७ वर्ष अवधिको घर कर्जामा ८.५९ प्रतिशत र ५ वर्ष अवधिको सवारी कर्जामा ८.९९ प्रतिशत स्थिर ब्याजदरको योजना सार्वजनिक गरेको छ।
नेपाल एसबिआई बैंक (Nepal SBI Bank): एसबिआई बैंकले भने समयावधि अनुसार फरक फरक स्थिर ब्याजदर कायम गरेको छ। ५ वर्षसम्मको घर कर्जामा ८.९९ प्रतिशत, ५ देखि १० वर्षसम्म ९.४९ प्रतिशत र १० वर्षभन्दा माथिको अवधिका लागि १०.४९ प्रतिशत ब्याजदर तोकिएको छ।
बैंकहरुमा निक्षेप लगातार बढिरहेको तर सोही अनुपातमा कर्जा लगानी हुन नसकेपछि बैंकहरु दबाबमा परेका हुन्। उद्योगव्यवसायमा देखिएको शिथिलताका कारण नयाँ ऋणको माग कम छ। प्रणालीमा पैसा थुप्रिँदा लागत बढ्ने भएकाले बैंकहरुले नाफाको मार्जिन घटाएरै भए पनि लगानी विस्तार गर्न सस्तो र स्थिर ब्याजदरका स्किम ल्याउन थालेका हुन्।





