बेलौरी, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरको दक्षिणी भेगमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिँदै लालझाडी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न गरेको छ । बुधबार सम्पन्न अधिवेशनले थारु समुदायका स्थानीय अगुवा खुशीराम रानाको सभापतित्वमा ९ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
रास्वपाका केन्द्रीय खेलकुद विभाग प्रमुख घनश्याम विष्टको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्थानीय जनसहभागिता उल्लेख्य रहेको थियो । रास्वपा कञ्चनपुरका कोषाध्यक्ष एवं युवा नेता नविन चन्दका अनुसार पार्टीको विधान र सहमतीय आधारमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको उपसभापतिमा हरिश गिरी र सचिवमा धनराज भट्ट चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा पानसिंह धामी, नहरसिंह राना, दलबहादुर झुकाल, शिवदास राना र रामवती राना रहेका छन् । अधिवेशनले जिल्ला प्रतिनिधिमा लक्ष्मण राना र प्रदेश प्रतिनिधिमा रतनलाल भारतीलाई जिम्मेवारी सुम्पिएको छ ।

बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपानेले सञ्चालन गरेको उक्त कार्यक्रममा नेताहरू जनकसिंह धामी, ज्ञानेन्द्रसिंह महता लगायतको उपस्थिति रहेको थियो । पदभार ग्रहण लगत्तै नवनिर्वाचित सभापति रानाले लालझाडी गाउँपालिकामा हुने बेथिति र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै जनताको हक अधिकारका लागि निरन्तर पैरवी गर्ने उद्घोष समेत गरेका छन् । सुदूरपश्चिमको पिछडिएको क्षेत्र मानिने लालझाडीमा थारु समुदायको नेतृत्वमा रास्वपाको उदयलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।






