कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार सिफारिस गर्दा पुस्तान्तरणको स्पष्ट सन्देश दिएको छ । पार्टीले सुदूरपश्चिमको राजनीतिमा लामो समय बिताएका ‘हेभीवेट’ नेताहरूसँगै उच्च शैक्षिक योग्यता हासिल गरेका युवा नेता माधव पन्तलाई पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
नेकपाको यस सिफारिस सूचीमा सुदूरपश्चिमका पूर्वसांसद महेशदत्त जोशी, पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का र पूर्वसांसद एवं संविधानसभा सदस्य हरिश ठकुल्ला (कमल क्षेत्री) जस्ता अनुभवी अनुहारहरू अटाएका छन् । तर, यी पुराना नेताहरूकै लहरमा उभिएका ३८ वर्षीय माधव पन्तको नामले भने जिल्लाको राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ । पार्टीले पन्तसँगै विद्यार्थी आन्दोलनबाट उदाएका तोयराज जोशी र महिला नेतृ दुर्गा भट्ट (जोशी) लाई पनि सिफारिस गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने संकेत गरेको देखिन्छ ।
विद्यार्थी राजनीति र प्राज्ञिक क्षेत्रमा एकसाथ सक्रिय पन्तको पृष्ठभूमि अन्य आकांक्षीहरूभन्दा फरक र वजनदार देखिन्छ । त्रिभुवन विश्वविद्यालयमा कूटनीतिक इतिहासमा विद्यावारिधि (पिएचडी) गरिरहेका पन्तले अंग्रेजीमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा एलएलबी उत्तीर्ण गरेका छन् । वि.सं. २०५९ सालमा कक्षा १० मा पढ्दादेखि नै अनेरास्ववियुबाट राजनीतिक यात्रा थालेका उनी सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु उपसभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा रहेर विद्यार्थी आन्दोलनको नेतृत्व गरिसकेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको उपमेयरमा प्रतिस्पर्धा गरेका पन्त राजनीतिलाई बौद्धिक बहससँग जोड्ने नेताका रूपमा परिचित छन् ।
विशेषतः अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिमा गहिरो दख्खल राख्ने पन्तले अमेरिका, चीन, भारत, रुस, ब्राजिललगायत दर्जनौँ मुलुकको भ्रमण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरेका छन् । सुदूरपश्चिमको विकास र समृद्धिका लागि विश्व अर्थतन्त्र र कूटनीतिको ज्ञान आवश्यक रहेको भन्दै युवा पंक्तिले उनलाई ‘सम्भावना बोकेको पात्र’ का रूपमा हेरेको छ । पुराना नेताहरूको अनुभव र पन्तजस्ता युवाहरूको जोश एवं प्राज्ञिक ज्ञानलाई पार्टीले कसरी चुनावी मैदानमा उपयोग गर्छ, त्यो भने हेर्न बाँकी छ ।





