मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
आज बेलौरी क्षेत्रमै उत्कृष्ट विद्यालयमध्ये एक वात्सल्य विद्या निकेतनले अभिभावक र विद्यार्थीहरुको लागि प्रेरणात्मक गोष्ठी आयोजना गरेको छ । नेपाल चर्चित मोटिभेटर तथा बेलौरीबाटै उदाउनुभएका शैक्षिक अभियन्ता क्षेत्र प्रसाद ज्ञवाली द्धारा दिईएको सो गोष्ठीमुलक कार्यक्रमबाट आज झण्डै आठ सय जनाको हाराहारीमा विद्यार्थी तथा अभिभावक लाभान्वित भएको हो ।

बाल मनोविज्ञान विषयमा विशेषज्ञता हासील गर्नुभएका र हालको दिनसम्म १८ सय भन्दा बढि विद्यालय तथा १५ लाखको हाराहारीमा विद्यार्थी, अभिभावक र शिक्षकलाई मोटिभेसन क्लास दिईसक्नुभएका महत्वपूर्ण मोटिभेटर तथा शैक्षिक अभियन्ता क्षेत्रप्रसाद ज्ञवालीद्धारा आज वात्सल्य विद्या निकेतनले आफ्ना विद्यार्थी र अभिभावकलाई ‛सफल अभिभावकत्व’ विषयमा अन्तर्क्रियात्मक गोष्ठीको व्यवस्था गरेको हो ।

कार्यक्रममा कक्षा पाँच देखि कक्षा दश सम्मका विद्यार्थीलाई बिहानी सत्र र अभिभावकका लागि दिवा सत्र गरि व्यवस्था गरिएको थियो ।

प्रविधिको युगले फड्को मारेसँगै अभिभावक र बालबालिका बीचको अन्तर्क्रिया तथा समग्र पारिवारिक वातावरणमा समेत चुनौती र अवसरहरु परिमार्जित भएको र ति सबैकुराबीच समन्वय गरेर कसरी प्रभावकारी रुपमा अभिभावकत्व र असल सन्तान तथा विद्यार्थी जीवन अगाडि बढाउने भन्ने विषय आजको महत्वपूर्ण विषय भएकाले सो कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण सिँह दियालले बताउनुभयो ।

‟निश्चय पनि हाम्रा छोराछोरीको भविष्य निर्माणमा न त हजुर अभिभावक, न त शिक्षक र न विद्यार्थी एक्लैले मात्रै प्रगति गर्न सक्छ, यो त हामी सबैको साझा जिम्मेवारी र उपयुक्त रेखदेख तथा प्रतिबद्धताले ल्याउने सुखद सफलता हुने कुरा हो”, उहाँले अभिभावकलाई सम्बोधन गर्नुभयो ।

विद्यार्थीहरुका लागि व्यवस्था गरिएको सत्रमा प्रतिनिधि विद्यार्थीहरुमा प्रत्यक्ष जाँच गरि उनीहरुमा रहेका सबल पक्ष र मिहेनत गर्नपर्ने पक्षलाई मोटिभेटर क्षेत्रप्रसाद ज्ञवालीले वास्तुशास्त्र सहितको अध्ययन गर्ने शैलीबारे सुझाव दिनुभएको थियो ।

त्यस्तै, अभिभावकको लागि व्यवस्था गरिएको ‛सफल अभिभाकत्व’ शीर्षक सत्रमा आफ्ना बालबालिकामा देख्न चाहेको असल छविको मुख्य प्रेरणा बालबालिकाले अभिभावकबाटै कसरी पाउछन् भन्ने सन्दर्भमा चित्तस्पर्शी छलफल गर्नुभएको थियो ।

साथै, बालबालिकाको असल सँस्कार निर्माण भएको खण्डमा नै उनीहरुको भविष्य उज्जवल हुने कुरालाई उजागर गर्दै घरपरिवार, विद्यालय र विद्यार्थी बीचको सहकार्यले सम्भव हुने कुरा रचनात्मक शैलीमा उदाहरण समेत प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीबाट प्रभावित भई अभिभावकहरुले मोटिभेटर ज्ञवाली तथा विद्यालय प्रति आभार व्यक्त गर्नुभयो भने आगामी दिनमा थप विश्लेषणात्मक अन्तर्क्रियात्मक कार्यक्रम राख्न समेत अनुरोध गर्नुभयो ।

बेलौरीकै परिवेश र यहाँको शिक्षा ग्रहण गर्नुभएको शैक्षिक अभियन्ता क्षेत्र प्रसाद ज्ञवालीको शैक्षिक यात्राको आधार बेलौरी नै रहेको हुदा विद्यार्थी, अभिभावक, शिक्षक र समग्रमा बेलौरीबासीको लागि उहाँ अत्यन्त महत्वपूर्ण प्रेरणाको स्रोत बन्नुभएको वात्सल्य विद्या निकेतनका प्रधानाध्यापक लक्ष्मण दियालले जिकिर गर्नुभयो ।






