कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता: चार लाखभन्दा बढीको अवैध सामान र सवारीसाधन नियन्त्रणमा

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरका विभिन्न सीमावर्ती इलाकाबाट भारतबाट गैरकानुनी रूपमा नेपाल भित्र्याइएका करिब चार लाख ६४ हजार रुपैयाँ बराबरका अवैध सामान, खाद्यान्न तथा सवारीसाधनहरू सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। सीमा क्षेत्रमा परिचालन गरिएका गस्ती टोलीहरूले साउन ९ र १० गते गरी विभिन्न स्थानबाट भन्सार छली ल्याइएका किराना सामान, पेय पदार्थ, लसुन, कपडा, प्रतिबन्धित ब्रोइलर कुखुरा तथा माछा बरामद गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपालका बीओपी तथा सुरक्षा बेसहरूबाट खटिएका गस्ती टोलीले सीमावर्ती बेलौरी र पुनर्वास नगरपालिकाका विभिन्न नाकाहरूबाट ती अवैध वस्तुहरू नियन्त्रणमा लिएका हुन्। पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँ सीमा इलाकामा साउन १० गते बिहान खटिएको गस्ती टोलीले से ३ प ३९५० नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ३० किलोग्राम प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ। मोटरसाइकल र कुखुरा गरी कुल एक लाख ५९ हजार रुपैयाँ मूल्याङ्कन गरिएको सो कारबाहीमा कुखुरा नष्ट गरी मोटरसाइकल भन्सार दाखिला गरिएको छ।

यसैगरी डोकेबजार सीमा इलाकाबाट सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर बीकको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याइँदै गरेको ४८ हजार ५७० रुपैयाँ बराबरको किराना तथा लेडिज सुट सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। त्यसैगरी पुनर्वास वडा नम्बर ६ को घाटस्थित जंगल इलाकाबाट साउन ९ गते दिउँसो सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर मल्लको नेतृत्वमा रहेको टोलीले ३० हजार ७२० रुपैयाँ मूल्याङ्कन गरिएका तीन थान साइकल र १३० किलोग्राम लसुन नियन्त्रणमा लिई कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको छ।

बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरीले निगरानी तीव्र पारेको छ। बेलौरी वडा नम्बर १० सडकघाट सीमा इलाकाबाट साउन ९ गते एक लाख रुपैयाँ बराबरको यूपी २७ एच ०६५७ नम्बरको भारतीय मोटरसाइकल र २४ हजार रुपैयाँ बराबरको ८० किलोग्राम प्रतिबन्धित माछा बरामद गरिएको छ। सो माछा स्थानीय जनप्रतिनिधि र भद्रभलादमीहरूको रोहबरमा नष्ट गरिएको छ भने मोटरसाइकल भन्सार बुझाइएको छ। यस्तै जर्शीखल्ला क्षेत्रबाट २० हजार ४०० रुपैयाँ बराबरका पेय पदार्थ र ५० किलोग्राम माछा बरामद गरी खाल्डोमा पुरी नष्ट गरिएको बीओपी भुडाले जनाएको छ।

सीमापार अपराध र चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत बेलौरी वडा नम्बर १ फटिया क्षेत्रबाट साउन ९ गते ७० हजार रुपैयाँ बराबरको ७०० लिटर ड्यु पेय पदार्थ नियन्त्रणमा लिई फर्वाड बेस कार्गीलडाँडा परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको छ। सोही इलाकाको थापाचोकबाट ३१ हजार ३०० रुपैयाँ बराबरका लेडिज कपडाहरू समेत बरामद गरी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय दाखिला गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ