कञ्चनपुर, साउन १० गते।
कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रहरीले अवैध रूपमा राखिएको सिसौको काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्गांककडबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते बिहान करिब ११ बजेको समयमा अवैध काठ बरामद गरेको हो।
प्रहरी टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ९ धनसिडा निवासी ३९ वर्षीय ऐन बहादुर शाहीको टहराबाट अवैध सिसौको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। बरामद गरिएको काठ १७.५५ क्यु फिट रहेको र त्यसको अनुमानित बजार मूल्य २५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको काठ र नियन्त्रणमा लिइएका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि सब डिभिजन वन कार्यालय पचकडिया परासन कञ्चनपुरमा बुझाइएको छ।





