बेलौरीमा लत्रिएको विद्युत् तारबाट करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर (बेलौरी) ।कञ्चनपुरको बेलौरी नगरपालिकामा खेतमा लत्रिएको विद्युत् तारबाट करेन्ट लागेर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ।

बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट निवासी ५३ वर्षीया अनिता पन्तको सोही वडाको नौगाउँस्थित खेतमा घाँस काट्ने क्रममा ज्यान गएको हो। बुधबार बिहान आफ्नो नियमित कामको सिलसिलामा खेतमा घाँस काटिरहेकी पन्तलाई भुइँमा लत्रिएको अवस्थामा रहेको तार झुक्किएर काटिन पुग्दा गम्भीर करेन्ट लागेको थियो।

खेतमा लत्रिएको तारबाट करेन्ट लागेर ढलेको देखेपछि स्थानीय बासिन्दाले तत्काल उद्धार गरी पन्तलाई उपचारका लागि बेलौरीस्थित जगदम्बा अस्पताल पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्। घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा शव परीक्षणलगायतका कानुनी प्रक्रिया अगाडि बढाएको छ।

नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मतबहादुर बिसीले विद्युत् पोलबाट एक स्थानीयको घरमा लगिएको सप्लाई तार भुइँमा लत्रिएको अवस्थामा रहेको र सोही तार घाँस काट्ने क्रममा करेन्ट प्रवाह भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ