बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटियास्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले लागुऔषध जस्तो देखिने खैरो पदार्थसहित एक जना युवकलाई पक्राउ गरेको छ।
आज बिहान करिब १० बजेको समयमा भारतको लखिमपुर खिरीस्थित बसही ग्राम पञ्चायतबाट नेपालतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१-०१२ प ७७७० नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी बस्ने सिदु रानाका २३ वर्षीय छोरा जितेश राना रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल फर्वार्ड बेस कार्गिलडाँडाबाट सशस्त्र प्रहरी नायव निरीक्षक केवल बहादुर ओलीको नेतृत्वमा खटिएको पाँच जना र प्रहरी चौकी फटियाबाट प्रहरी सहायक निरीक्षक मान सिंह धामीको नेतृत्वमा खटिएको तीन जनाको संयुक्त सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सुरक्षा टोलीले सीमा इलाकामा जाँच गर्दा मोटरसाइकल चालक रानाले आफूले लगाएको हेल्मेटभित्र लुकाइछिपाई ल्याएको अवस्थामा शून्य दशमलब पाँच नौ ग्राम तौल भएको लागुऔषध जस्तो देखिने खैरो पदार्थ बरामद गरेको थियो।
बरामद गरिएको उक्त शंकास्पद पदार्थ र पक्राउ परेका रानालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि आज बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको छ।





