दुर्घटना न्यूनीकरण र सचेतनामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बेलौरीका ट्राफिक इन्चार्ज भट्ट पुरस्कृत

बेलौरी, कञ्चनपुर ।

सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार खेमराज भट्टलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीले भट्टले कार्यक्षेत्रमा देखाएको व्यावसायिक निष्ठा, अनुशासन र लगनशीलताको उच्च मूल्याङ्कन गर्दै अभिलेखमा जनिने गरी पुरस्कृत गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय अछाम दरबन्दी भई हाल बेलौरी पोस्टको कमान्ड सम्हाल्दै आएका उनले विभागीय नीति निर्देशनको पालना गर्दै स्थानीय स्तरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाएका छन्।

कार्यकालका दौरान उनले सवारी धनी पहिचान हुन नसकेका सात वटा शङ्कास्पद मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउनुका साथै सडक सुरक्षा सम्बन्धी सचेतनामूलक होर्डिङ बोर्डहरू निर्माण तथा जडान गर्ने कार्यमा सक्रियता देखाएका थिए। हुलाकी राजमार्ग तथा शाखा सडकहरूमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै उनले चालक र पैदलयात्रीलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका छन्।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दा, यातायात व्यवसायी, विद्यार्थी तथा चालकहरूलाई सडक अनुशासन र दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिँदै आएको स्थानीयले बताएका छन्। नियम उल्लङ्घनमा कडाइ गर्नुका साथै सचेतनालाई प्राथमिकता दिने उनको कार्यशैलीले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रहरी नियमावली बमोजिम प्रदान गरिएको यस सम्मानले सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउनुका साथै दक्षिण कञ्चनपुरको सडक सुरक्षा र सुव्यवस्थालाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ