सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन, बजेट निर्माणको कामले गति लिने

धनगढी।

सुदूरपश्चिम प्रदेश सरकारले लामो समयदेखि सचिवविहीन रहेका दुई महत्वपूर्ण मन्त्रालयमा सचिव पदस्थापन गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा नयाँ सचिवहरूको पदस्थापन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार सामाजिक विकास मन्त्रालयको सचिवमा संगीता ओझा र भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा पदमराज देवकोटालाई जिम्मेवारी दिइएको छ। यसअघि यी मन्त्रालयहरूमा सचिवको पद रिक्त रहँदा आगामी आर्थिक वर्षको बजेट निर्माणलगायतका प्रशासनिक तथा नीतिगत कामहरू प्रभावित हुँदै आएका थिए।

नियमित सचिव नहुँदा योजना छनोट, बजेट तर्जुमा र मन्त्रालयगत कार्यसम्पादनमा ढिलाइ भएको गुनासो बढिरहेको बेला प्रदेश सरकारले यो निर्णय गरेको हो। सचिव पदपूर्ति भएपछि बजेट निर्माण प्रक्रियाले तीव्रता पाउने र जनसरोकारका विकास निर्माणका कार्यहरूले गति लिने अपेक्षा गरिएको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भई आउनुभएका उत्तमकुमार खत्री यसअघि नै प्रदेशमा उपस्थित भइसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ