धनगढी, असोज ३ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका अधिकार पूर्ण रूपमा सुनिश्चित गरेको बताउनुभएको छ।
प्रदेश सरकारद्वारा आयोजित संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले संविधानले मुलुकका सबै जातजाति, भाषा, धर्म र सांस्कृतिक पहिचानलाई आत्मसात गर्दै नागरिकका हकहितको रक्षा गरेको स्पष्ट पार्नुभयो। उहाँले संविधान केवल कानुनहरूको सङ्ग्रह मात्र नभई विभिन्न राजनीतिक मत र विचारबीच सहमति खोज्ने बलियो आधार भएको उल्लेख गर्नुभयो।
लोकतन्त्रको सुदृढीकरण र समावेशी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ थियो। लोकतान्त्रिक मूल्य र मान्यतालाई थप बलियो बनाउँदै प्रदेशको समग्र विकास र समृद्धिका लागि सबै पक्षको साझा सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री भट्टले औँल्याउनुभयो।
संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु सबै नागरिक र सरोकारवालाहरूको साझा दायित्व भएको बताउँदै उहाँले सुदूरपश्चिम प्रदेशलाई समृद्धिको बाटोमा अघي बढाउन सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।





