बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी स्थायी घर भई हाल कर्मभूमि अस्ट्रेलियामा सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका युवा किशोर शाही सन् २०२६ को प्रतिष्ठित न्यूक्यासल स्वयंसेवा सम्मानका लागि छनोट भएका छन् ।
अस्ट्रेलियाको संघीय संसदकी उपसभामुख तथा न्यूक्यासल क्षेत्रकी संघीय सांसद सेरोन क्लेडनको कार्यालयले औपचारिक पत्रमार्फत शाहीलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिएको हो । आगामी नोभेम्बर १३ मा न्यूक्यासलमा आयोजना हुने एक विशेष समारोहका बीच उपसभामुख क्लेडनले शाहीलाई सो सम्मान हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
सन् २०१७ मा उच्च शिक्षा र अवसरको खोजीमा अस्ट्रेलिया पुगेका शाहीले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा स्थानीय समुदायका सदस्यहरूलाई आवास व्यवस्थापन, रोजगारीको खोजी र आवश्यक परामर्श प्रदान गर्दै आएका छन् । सामाजिक सञ्जालको प्लेटफर्म नेप्लिज इन न्यूक्यासलको एडमिनका रूपमा समेत उनले प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्न र समस्यामा परेकाहरूलाई तत्काल उद्धार तथा सहजीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । स्थानीय तथा विद्यार्थी क्लबहरूलाई सहयोग पुर्याउनुका साथै सार्वजनिक यातायात अवरुद्ध हुँदा कारपुलिङको समन्वय गरेर यात्रुहरूलाई गन्तव्यमा पुर्याउने कार्यमा पनि उनको सक्रियता उल्लेखनीय छ ।
शाहीको परोपकारी कार्य अस्ट्रेलियामा मात्र सीमित नभएर मातृभूमि नेपाल र विशेषगरी सुदूरपश्चिमका ग्रामीण बस्तीहरूसम्म फैलिएको छ । आर्थिक अभावका कारण न्यानो लुगा, जुत्ता र शैक्षिक सामग्री जुटाउन नसक्ने विपन्न परिवारका विद्यार्थीहरूका लागि उनले विशेष सहयोग अभियान सञ्चालन गरी व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग पुर्याउँदै आएका छन् । यसैगरी गम्भीर रोगका कारण उपचारमा आर्थिक कठिनाइ भोगिरहेका बिरामीहरूको सहयोगार्थ राहत संकलन, स्थानीय युवा क्लबहरूको सशक्तीकरण र सामाजिक जनचेतना जगाउने कार्यमा पनि उनको निरन्तर सहभागिता रहँदै आएको छ ।
वैशाखीका स्थानीय बासिन्दा तथा प्रवासमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूले शाहीले प्राप्त गर्न लागेको यो सम्मानलाई व्यक्तिगत उपलब्धि मात्र नभई समग्र बेलौरी र नेपाली डायस्पोराको सेवाभाव, एकता र परोपकारी संस्कृतिको अन्तर्राष्ट्रिय कदरका रूपमा लिएका छन् । सुदूरपश्चिमको दक्षिणी ग्रामीण भेगबाट उदाएर अन्तर्राष्ट्रिय मञ्चमा निस्वार्थ सेवाको पहिचान बनाएका युवाहरूको यस्ता उदाहरणीय कार्यले विश्वभर नेपाली समुदायको छवि उच्च बनाउनुका साथै स्थानीय युवा पुस्तालाई समेत सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।





