राष्ट्रिय परिचयपत्र लिन वृद्धवृद्धालाई अझै पनि कठिनाई

मीरा श्रेष्ठ, कात्तिक २९, २०८१

कञ्चनपुर – नेपाल सरकारले केहि महिना अघि सामाजिक सुरक्षा भत्ता सुविधाबाट लाभान्वित हुनका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र प्रावधान ल्याएको थियो । तर, सर्वोच्च अदालतले गत भदौ ९ गते उक्त निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो । अनिवार्य नभएतापनि आवश्यकिय परिचयपत्र लिन र सोको आवेदन स्थिति बुझ्न वृद्धवृद्धालाई कठिनाई भएको अवस्था छ । ईलाका प्रशासन कार्यालय (ई.प्र.का), त्रिभुवनबस्तीका नायब सुब्बा (ना.सु) दिपेन्द्र प्रसाद जैसीका अनुसार धेरैजसो वृद्धवृद्धा आवश्यकीय कागजात अपुग भएका कारण समस्यामा परेका छन् । उनी भन्छन्, ‟घरपरिवार या छरछिमेकको सहयोग लिएर आउदा सजिलो हुन्छ । कतिपय आमाबुबा प्रतिलिपि मात्र लिएर आउनुहुन्छ जबकि प्रावधानले सक्कल कागजात पनि अनिवार्य मागेको छ । मिलाईदेउ न बाबु हो भन्नुहुन्छ । सकेसम्म त प्रयास गर्छौँ, तर प्रावधानले मागेको कागजात त पुरा गर्नुपर्छ नै ।”

यता, बेलौरी नगरपालिका अन्तर्गत पञ्जीकरण विभागबाट एम.आई.एस अपरेटरको रुपमा कार्यरत कुमार सिंह नगारीको पनि उस्तै अनुभव छ । ‟पहिलेको तुलनामा अहिले आमाबुबा कम संख्यामा आउनुहुन्छ । तर प्राविधिक प्रक्रिया पुरा भएको हुन्न । अनि त उहाँहरु आफैलाई पनि यहाँ धाईराख्नुपर्ने र हामीलाई पनि अनावश्यक समय खर्चिनुपर्ने हुन्छ ।” नगारीका अनुसार दैनिक करिब ५०–६० को औसतमा परिचयपत्रको निवेदन आउने गर्छ ।

ना.सु. जैसीका अनुसार नेपाल सरकारले जनतालाई सहजता प्रदान गर्ने उद्धेश्यले स्थानीय तहहरुमा राष्ट्रिय परिचयपत्रको फारम भर्न र कार्ड बनिसकेकाको हकमा बुझिलिनका लागि सुविधा उपलब्ध गराएको छ । तथापि यस सुविधाको बरोबर लाभ लिनका लागि आवश्यकीय प्रक्रियाबारे वृद्धवृद्धा मात्र नभई किशोर तथा युवा सेवाग्राहीले समेत उचित ध्यान नदिने प्रवृति देखाएका छन् । जैसीले थप जानकारी दिदै बताए, ‟आमसञ्चार माध्यमहरुबाट निरन्तर सुचना प्रसारित भईरहेका छन् । साथै, नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाईट  https://citizenportal.donidcr.gov.np मा पनि परिचयपत्र लिने तथा कार्ड तयार भए नभएको जाँच गर्ने प्रक्रिया स्पष्ट उल्लेख छ । सँगसँगै हामीले कार्यालयमा परिचयपत्र विभागको कक्षनेर भित्तामा पनि सुचना टाँस गरेका छौँ । तैपनि कतिपय सेवाग्राहीको कागजात अपुर्ण हुन्छन् ।”

सेवाग्राहीले पुरा कागजात पेश गनुपर्ने अवस्था अनिवार्य भयो नै, सँगै विशेषतः वृद्धवृद्धावस्थाका ज्येष्ठ नागरिकलाई कागजात पेश गर्न कार्यलयबाट पनि थप सेवासुविधा दिन सकियो भने अझ उहाँहरुलाई सहज हुने कुरामा नगारी सहमत जनाउछन् ।  उनि भन्छन्, ‟कहिलेकाहीँ उहाँहरुले प्रतिलिपी नल्याएको अवस्थामा यदि आमाबुबाको लागि बाहिरतिर जानुभन्दा कार्यालय परिसरमै फोटोकपी गर्न सकिने व्यवस्था गर्ने हो भनेपनि उहाँहरुलाई कता जाने ? के गर्ने अलमल हुदैन ।”

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ